January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

पुलिस फोर्सका एक जवानले अन्धाधुन्ध एके–४७ फायरिङ गर्दा चार जना जवानको मृत्यु ३ घाइते

२०७८ कार्तिक २२

650

काठमाडौं । आइतबार राति छत्तीसगढको सुकमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ फायरिङ गर्दा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बिहान ३ बजेर १५ मिनेट जाँदा कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ भने घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ ।

Advertisement

यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प रहेको छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो । अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो । त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जना गम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो ।

बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।