November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

श्रीमानले मट्टितेल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, उपचार खर्चमा समस्या भएको अस्पतालको भनाइ

२०७८ कार्तिक ११

3.6K

काठमाडौं । घरायसी झगडाका कारण श्रीमानले मट्टितेल छर्केर आगो लगाउँदा इटाभट्टामा काम गर्ने एक युवती गम्भीर घाइते भएकी छन् ।

बुधबार बिहान ललितपुरको गोदावरी नगरपालिका १३ मा रहेको इटाभट्टामा काम गर्ने २३ वर्षीया मुना मगरमाथि मट्टितेल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका हुन् ।

अहिले मुनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार, मुनाको शरीरका ४० प्रतिशत भाग जलेको छ ।

Advertisement

आफ्नै श्रीमान राजु देसारले मट्टितेल छर्केर आगो लगाइदिएको मुनाको आरोप छ भने राजुले भने मुना आफैले मट्टितेल छर्केर आगो लगाएको बताएका छन् । राजु अहिले प्रहरीको नियन्त्रणमा छन् ।

मजदूरी गरेर खाने परिवारमा यो घटना भएकाले उपचार खर्चमा समेत समस्या भएको अस्पताल प्रशासनको भनाइ छ ।

जलनबाट युवती घाइते भएको जानकारीपछि समाजसेवी उज्वलविक्रम थापा कीर्तिपुर अस्पताल पुगेका छन् । उनले मुनाको उपचारका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।

तेजाबबाट जलन भोगेकाको सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था भए पनि अन्य जलन पीडितले भने राज्यबाट सेवा पाउने गर्दैन । त्यसैले पनि अन्य जलनमा पनि सरकारले उपचार निःशुल्क गर्नुपर्ने थापाको भनाइ छ ।

उनले ट्वीट गरेका छन्, ‘यो चेलीले सरकार बाट उपचार नपाउनु अन्याय र अमानवीय हो । तेजाब सरह जलन अपराधले मान्यता पाउनुपर्छ ।’

गोदावरी ११ घर भएका राजु र मुना गोदावरी १३ मा रहेको इटाभट्टामा काम गर्दै आएका छन् । उनीहरुको तीन वर्षीया छोरी पनि छन् ।