सिन्धुली । सिन्धुलीमा ३ दिदीबहिनीको सामुहिक बलात्कार भएको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्ने ३ बालिकालाई राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार गत शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेका हुन् । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।
बलात्कार गर्ने एक जना र बलात्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान रहेको र चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले ९ जनामध्ये ३ जनालाई पक्राउ गरेको छ भने ६ जना फरार रहेका छन् ।