काठमाडौं । महोत्तरीमा बोक्सीको आरोपमा एक महिलालाई अभद्र व्यावहार गरिएको छ । जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरि मलमूत्र खुवाएर कपाल खौरिदिइएको छ । महोत्तरी प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय सिकिन्दर महतो, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महतो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महतो र २० वर्षीय अनिल महतो रहेको जनाइएको छ ।
अनुसन्धानबाट सुकमरिया देवीलाई देख्ने बित्तिकै सिकिन्दर महतोकी १३ वर्षीया छोरी काजल कुमारी रुन थालिन् । त्यसपछि सिकिन्दर समेतले सुकमरिया देवीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाई कपालसमेत मुन्डन गरेर अपमानजनक दुर्व्यवहार गरेको देखिएको बताए ।
गत बुधबार बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा सुकमरियालाई स्थानीय सिकिन्दर महतोलगायतले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाई कपाल समेत खौरेर अपमानजनक ढंगले दुर्व्यवहार गरेको हो ।
घटनास्थलबाट पीडित महिलालाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको खौरिएको अवस्थामा कपालका टुक्राहरू, मलमूत्र खुवाउन प्रयोग गरिएको प्लास्टिकका ग्लास र बियरको बोतलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
एकदिन अघि महोत्तरीको मडै गाउँमा भाउजूलाई बोक्सी भन्दै देवरले हत्या गरेका थिए । देवर सञ्जय कुमार झाले भाउजू शिलादेवीको घरमै सुतिरहेको अवस्थामा हथौडाले हानेर हत्या गरेका थिए । उक्त घटना सेलाउन नपाउँदै अर्को घटना उजागर भएको छ ।