November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै अस्पताल तोडफोड

3.4K

काठमाडौ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको भन्दै गए राति जिल्ला अस्पताल पाँचथरमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ ।

तोडफोडमा उत्रिएको समूहले ढुंगामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुग्नुका साथै अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ संक्रमितको उपचार हुने एचडियूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् भने अस्पतालको बाहिर ढुंगा, इँट्टा, काठ, मुढा, रडको थुप्रो लागेको छ । अस्पतालमा रहेका कुर्सी टेबल सहितका सामग्री फुटेका छन् भने अस्पतालको बगैंचा पनि क्षतविक्षत छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा निधन भएको थियो । यसपछि आफन्त र अन्य स्थानीयबासीले स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै यसको विरोधमा उत्रेका थिए ।

Advertisement

बिहानबाट अस्पताल प्रशासन, प्रशासनिक निकाय तथा बालिकाका आफन्तबीच छलफल भए पनि बेलुकीसम्म निष्कर्षमा नपुग्दा उत्तेजित बनेको भिडले अस्पतालको संरचनामा जथाभावी प्रहार गरेको थियो ।

आगजनीमा उत्रेकालाई तितरवितर पार्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार गरे पनि उत्तेजित भिड प्रहरीसँगै जाइलागेको थियो । रातभरजसो फिदिमका चोकमा प्रहरीले आन्दोलनकारीलाई धपाउने प्रयास गरेको थियो ।

अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको स्रोतले जनाएको छ ।

अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आकस्मिक कक्षसमेत सहजरूपमा सञ्चालन हुनसक्ने अवस्था छैन । अस्पतालमाथि आज बिहान समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा संवाद गरिएको थियो । संवादमा बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ ।

यस्तै, अस्पताल प्रशासनले बालिकाको काजकिरिया खर्चका लागि ४० हजार रुपैयाँ रकम उपलब्ध गराउने भएको स्रोत ले जनाएको छ ।