November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सङ्खुवासभा सामूहिक हत्यामा उत्कृष्ट अनुसन्धान गर्ने पाँच प्रहरी पुरस्कृत

2.9K

काठमाडौं : सङ्खुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।

हत्या घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै प्रदेश १ प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी, नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन्।

Advertisement

उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो।

साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आ–आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरेका छन्।