November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

संखुवासभा सामुहिक हत्या प्रकरणः घटनाबारे अन्तर्वार्ता दिदै हिडिरहे हत्या आरोपी लोकबहादुर

4.7K

विराटनगर । संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ ।’

मृतक तेजबहादुर कार्कीका दुई छोरा विदेशमा हुनु, ८० लाख रुपैयाँमा जग्गा बैना गर्नु र जग्गा पास गर्न जाने अघिल्लो दिन घटना हुनुले यो आशंका स्वाभाविक थियो । तर प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेट्यो ।

पहिलो शंका कमजोर भएपछि प्रहरी प्राविधिक विश्लेषणमा जुट्यो । घटना घट्नु हप्ता दिनअघि र घटना भएको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाएन । घटनास्थल आसपास दुई वटा बीटीएस टावरको कनेक्सन थियो । घटनास्थलबाट १० किलोमिटर आसपास १५० हाराहारी मोबाइल नम्बर सक्रिय भेटिए । उनीहरुमध्ये शंकास्पद केही नम्बर प्रयोगकर्तालाई प्रहरीले बोलाएर सोधपुछ पनि गरेको थियो ।

Advertisement

तर ठोस उपलब्धि हात नलागेपछि प्रहरीले निष्कर्ष निकाल्यो, ‘घटनामा बाहिरका मान्छे सहभागी छैनन् ।’ अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार भौगोलिक विकटताका कारण बाहिरका मान्छे आएर हत्या गरेर भागिहाल्न सक्ने अवस्था थिएन । तर तालिमप्राप्त कुकुरको प्रयोग पनि प्रभावकारी भएन ।

त्यसपछि प्रहरीले मानव जनशक्तिबाटै अनुसन्धान सुरु गर्‍यो । आशंकाको घेरामा गाउँलेहरु परे । पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनी थिए । उनैले लगातार बयान फेर्न थालेपछि प्रहरीले लोकबहादुरमाथि निगरानी बढायो ।

त्यसक्रममा उनको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार अनुसन्धान सुरु गर्दा उनीमाथि शंका गरिएको थिएन । हेर्दा सोझो देखिने उनको मानसिक अवस्था पनि कमजोर भएको परिवारका सदस्यहरुले बताएका थिए । तर सोधपुछका क्रममा बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।

घटनाबारे अन्तर्वार्ता दिइहिँडे

लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन् ।

‘बडाउ(तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।’

तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।

बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनीबुहारी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या आरोपमा उनै लोकबहादुर पक्राउ परेका छन् ।