पर्सा- वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाई दिने भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुले घर भइ हाल काठमाडौंको तारकेश्वर बस्ने २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान रहेका छन् ।
उनले काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने वर्ष ३६ को प्रेमबहादुर तामाङसहित ६ जनाबाट कम्बोडिया पठाई दिने भन्दै ३९ लाख रुपैयाँ उठाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ उठाएका मिनध्वजले कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोसगार्ड’ को नोकरी लगाई दिने बताएका पीडितले जनाएका छन् । पक्राउ परेका मिनध्वजलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।