April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ

4K

राेल्पा – रोल्पामा बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्। 

जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले लुङ्ग्री गाउँपालिका–४ नम्बर वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । 

पीडितको उजुरीको आधारमा बलात्कारको आरोपितसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

Advertisement

गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गरेका थिए। जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो । 

पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पीडितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपितलाई कसुर बमोजिम र अन्यलाई घटनाको मतियारको कसुर बमोजिम कानुनी कारबाही हुने डीएसपी सुवेदीले बताउनुभयो । पीडित महिलाले साउन ४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन् ।