January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

मृत भेटिएका सेनाका हुद्दा गुरूङलाई सेनाकै सिपाहीले गोली हानेको पुष्टि

2K

काठमाडौं । चितवनमा मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी मारेको पुष्टि भएको छ । गुरूङ शारदानगरस्थित घोलमा बिहीबार बिहान मृत भेटिएका थिए ।

चितवन प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौंबाट सँगै चितवन आएका सिपाही गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको भेटिएको जानकारी दिएको छ ।

चितवनमा बैना गरिएको जग्गा पासका लागि आएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

Advertisement

भरतपुर—२१ का गंगाधरलाई गुरूङले विश्वास गरेर बैंकको चेक नै दिएको एसपी अधिकारीको भनाई छ । एसपी अधिकारीले प्रहरीको ज्ञान, सीप, प्रविधिको पूर्ण प्रयोग गरी घटना भएको केही घण्टामै आरोपितलाई पक्राउ गर्न सफल भएको बताए ।

प्रहरीले गंगाधरलाई पक्राउ गर्नुका साथै एक थान गोलीको खोका, एसएमजी हतियार एक थान, नगद ८ लाख रूपैयाँ, मोटरसाइकल लगायत घटनामा प्रयोग भएका सामग्री बरामद गरेको जनाएको छ ।