July 26, 2021, Monday
२०७८ श्रावण ११
1:37:26 pm

एक महिनाअघी बेपत्ता सुजिताको शव शौचालयको ट्याङ्कीमा भेटियो

400

जनकपुरधाम – महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर शव फेला परेको छ । एक महिनाअघि बेपत्ता बनाइएकी सुजिताको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पप्पको शौचालयको ट्याङ्कीमा फालिएको शव फेला पारेको हो । शव फालेर ट्याङ्कीमाथि प्लास्टर गरिएको थियो । सुराकीपछि प्रहरीले प्लास्टर फुटाएर शवको खानतलासी गरेको थियो ।

सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या भएको आरोप छ । सुजिताको घर पक्षले भने सुजिता अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए । माइत पक्षले भने सुजिताको हत्या भएको दाबी गरेर छानविन गर्न माग गरेको छ ।

त्यतिबेला करिब ५ फिट खाल्डो खनेपछि केश, कपडा र शरीर लगाउन प्रयोग गरेको केमिकल भेटियो । सोही दिन प्रहरीले सुजिताको हत्या आरोपमा देबर रुपेश र श्रीमान् मुकेशलाई नियन्त्रणमा लियो । अहिले दुबैजना प्रहरी हिरासतमा छन् ।

शव फेला परेको स्थलमा सुजिताकी आमा सुनिता पनि पुगेकी थिइन् । छोरीको शव फेला परेपछि आमा सुनिता पटक-पटक बेहोश भएकी छन् । विक्षिप्त स्थितिमा रहेकी आमा सुनिता भन्छिन्- मेरो मुटु नै चुँडेर लगे, अब कसको मुख हेरेर बस्नू ?

सुजिता हत्याको कारण अहिलेसम्म खुलेको छैन । तर दाइजो र सम्पत्तिको लोभ नै हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘हिरासतमा रहेका देवर रुपेशले हत्या स्वीकारेका छन् । तर हत्याको कारण खुलाएका छैनन् ।’

श्रीमान सुस्त मनस्थितिका भएकाले अन्य पुरुषसँगको हिमचिम पनि हत्याको कारण हुनसक्ने प्रहरीको अनुमान छ । ससुरा पक्षले अन्य पुरुषसँग भागेको भनेपछि प्रहरीले सुजिताका एक साथीलाई नियन्त्रणमा लिएको थियो । तर उनी निर्दोष देखिएपछि प्रहरीले छाडेको थियो ।