March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

श्रीमतीलाई खाल्डोमा गाडेर हराई भन्दै खोजी हिँड्ने श्रीमान पक्राउ

6.1K

काठमाडौं- जिल्ला प्रहरी कार्यालय काभ्रेले श्रीमतीलाई खाल्डो खनेर गाडेको आरोपमा ती महिलाका श्रीमान र ससुरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काभ्रेको चौरीदेउराली गाउँपालिका-९ गोठपानीका ६६ वर्षीय चन्द्रबज्र लामा र उनका छोरा २८ वर्षीय सोनाम लामा छन्।

सोनामले आफ्नी श्रीमती २२ वर्षीया सुमिना गुरुङ हराई भन्दै गाउँदेखि प्रहरीसम्म जाहेरी दिएका थिए। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले शंका लागेर उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका सोनामले बाबु चन्द्रबज्रको सहयोगमा श्रीमतीलाई खाल्डो खनेर गाडेको स्वीकार गरेपछि उनीहरुलाई पक्राउ गरिएको काभ्रे प्रहरीका प्रवक्ता तथा डीएसपी हरि खतिवडाले बताए।

घटना गत शनिबारको हो। शनिबार श्रीमती हराई भन्दै सोनामले गाउँलेहरुलाई भनेका थिए। पछि प्रहरीसम्म यो कुरा पुगेपछि प्रहरीले खोजतलास शुरु गरेको थियो। सो क्रममा शंका लागेपछि सोनामलाई बुधबार नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा घटना बाहिर आएको हो।

Advertisement

सोनामले प्रहरीसमक्ष श्रीमतीले आत्महत्या गरेको र पछि आफूलाई गाह्रो हुनसक्ने भएकाले बाबुको सल्हालमा खाल्डो खनेर गाडेको बयान दिएका छन्। घरमै सलको पासो लगाएर झुण्डिएको र पासो काटेर बँचाउन खोज्दा श्रीमतीको मृत्यु भइसकेकाले शव लुकाउन घर नजिकैको मकै बारीमा खाल्डो खनेर गाडेको सोनामको भनाइ छ।

सोनामले उक्त बयान दिएपछि जिल्ला प्रहरी कार्यालय र फरेन्सिक विज्ञसहितको टोलीले सोनामको घर नजिकैको मकै बारीबाट सुमिनाको शव निकालेको डीएसपी खतिवडाले बताए।

शव पोष्टमार्टमका लागि पठाइएको छ। आत्महत्यापछि गाडेको हो या हत्या गरेर गाडेको हो भन्ने अहिले यकिन भइनसकेको डीएसपी खतिवडाको भनाइ छ। उनीहरुबीच दुई वर्षअघि प्रेम विवाह भएको थियो। सुमिनाका १८ महिनाका छोरा छन्।