काठमाडौं- चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा चार जनालाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन्। उनीहरुमाथि २० लाख रुपैयाँ नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ।
उनीहरुले यही चैत १६ गते काठमाडौंको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जानकारी दिएको छ।
छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ। सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरुले २० लाख, सुनको तिलहरी, सुनको औँठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ। प्रहरीले उनीहरुका साथबाट नगद सात लाख ९२ हजार ६०० रुपैयाँ, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जानकारी दिएको छ।