April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

केन्द्रीय कारागारमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराजको अन्तर्वार्ता बाहिरिएपछि छानबिन

1.7K

काठमाडाैं । कुख्यात अपराधी चार्ल्स शोभराजको विदेशी मिडियामा अन्तर्वार्ता आएपछि केन्द्रीय कारागार सुन्धाराले आन्तरिक रूपमा छानबिन गरेको छ। बेलायती ट्याबोलोइड मिडिया सन्डे मिररमा गत मार्च २७ गते शोभराजको अन्तर्वार्ताको प्रकाशन भएको थियो।

कारागार व्यवस्थापन विभागको अनुमतिबिना नै सो अन्तर्वार्ता बाहिरिएपछि कारागारले आन्तरिक रूपमै छानबिन गरेको सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए। जेलर बाँस्कोटाका अनुसार कारागारमा कैदी शोभराजलाई गत वर्षदेखि कोही भेट्न पुगेका छैनन्। गत वर्ष लकडाउन हुनुअघि भने उनका कानुन व्यवसायी भेट्न आएको जेलर बाँस्कोटाले बताए।

‘गत वर्ष लकडाउन हुनुअघि नेपालमा रहेकी एक कानुन व्यवासायी भेट्न आउनु भएको थियो। त्यसयता कोहीसँग भेटेको पाइएन,’ उनले भने,’कोही मिडियाकर्मी आएर इन्टर्भ्यू लिएको छैन।’ कैदीबन्दीहरूले नियमितरूपमा हप्ताको दुई दिन आफ्ना आफन्त तथा साथीहरूलाई फोन गर्न पाइन्छ। त्यसै फोनमार्फत् अन्तर्वार्ता बाहिरिएको हुन सक्ने आशंका गरिएको छ।

Advertisement

शोभराजले फोन गर्दा विशेषगरी तीन राष्ट्रमा गर्छन्- बेलायत, फ्रान्स र अमेरिका। उनले त्यहाँ रहेका आफन्तहरूसँग नियमित रूपमा हप्ताको दुई पटकजसो कुराकानी गर्छन्।

‘फोन गर्नेबेलामा आफन्तसँग वा साथीबाट मिडियामा गएको हुनुपर्छ भन्ने हो,’ जेलर बाँस्तोलाले भने। त्यस्तै छानबिनकै क्रममा शोभराजसँगै पनि अन्तर्वार्ताबारे सोधिएको उनले बताए। तर उनले पनि यसबारे अस्वीकार गरेका छन्।

‘आफन्तहरूसँग कुरागर्दा फोन रेकर्ड गरेर मिडियालाई दिएको हुनसक्छ भन्ने अनुसन्धानबाट देखियो,’बाँस्तोलाले भने,’मिडियामा पनि हेरें। उनले भने जस्तै अरू कैदीलाई पनि यसबारे सोध्यौं भने हामीलाई फसाएको हो भन्छन्। आरोप लगाएका हुन् भन्छन्। त्यो सामान्य बोली भएको हुँदा हामी टिप्दैनौं पनि।’

२० जनाभन्दा बढीको हत्या आरोपमा उनी सन् २००३ मा पक्राउ परेका थिए। उनी अहिले केन्द्रीय कारागारमा जन्मकैदको सजाय काटिरहेका छन्।

विकिनी किलरको नामबाट चिनिने शोभराजको गत मार्च २७ मा छापिएको समाचारमा उनले आफू केही हप्तामै छुटिन लागेको बताएका थिए।

‘म यी मुद्दामा एकदमै निर्दोष छु। म तीनदेखि चार हप्तासम्ममा छुट्दैछु। यदि मसँग अन्तर्वार्ता लिन चाहनुहुन्छ भने यता आउनुस् र सँगै एउटै फ्लाइटमा फर्कौंला,’ अन्तर्वार्तामा उनले भनेका छन्।