April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

४० वर्ष भारतीय जेल बसेका झापाका दुर्गाप्रसाद नेपाल आइपुगे

6.2K

काठमाडौँ – ४० वर्ष भारतीय जेल जिवन बिताएका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) आइतबार नेपाल आईपुगेका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको संयुक्त पहलमा झापाका दुर्गा आज बिहानै नेपाल आइपुगेका हुन् ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेश बमोजिम शनिबार छुटेका हुन् । विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नतले झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाईने बताए ।

इलाम माई नगरपालिका–१० स्थित घर भएका दुर्गा विगत ४० वर्षदेखि भारतीय जेलमा थिए । अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ ।

Advertisement

२०३७ मा दुर्गाप्रसाद कामको खोजीमा दार्जिलिङ पुगेका थिए । उनी त्यही रहँदा सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेका थिए । दार्जिलिङमा त्यो समय गोर्खाल्यान्ड आन्दोलन जारी थियो । उनी पक्राउ पर्दा करिब २० वर्षका थिए ।

दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनका क्रममा उनी बसेको जेलमा आगजनी गरिएपछि उनका सबै कागजात पनि जलेर नष्ट भए । प्रहरीको यातनाका कारण उनको शारीरिक र मानसिक अवस्था पनि बिस्तारै खस्किँदै गयो ।

उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पु¥याइएको थियो । उनीसँग १० वर्ष जेल बसेका राधेश्याम दास भन्ने व्यक्तिले सञ्चारमाध्यमहरुमा खबर गरेपछि यो खुलासा भएको थियो ।

कोलकातास्थित दमदम सेन्ट्रल जेलमा रहेका ६० वर्षीय जैसीसँग परिवारका सदस्यले एक महिनाअघि भेटेर आफन्त भएको पुष्टि गरेका थिए । जेल भित्रको चरम यातनाका कारण उनी मानसिक र शारीरिक रुपमा असक्त रहेको विश्व सेवा विस्तार नाम संस्थाले जनाएको छ ।