डडेल्धुरा – डडेल्धुरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेका हुन्।
ढेड फिट लामो चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।
शनिबार दिउँसो ३ बजे साउदले श्रीमतीको हत्या गरेर आफैंले स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए।
श्रीमतीको हत्या गरेका साउदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए। उनले श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताए।
‘म बाहिर थिएँ। घरमा आउँदा श्रीमती रक्ताम्य देखेँ। मृत्यु भइसकेको जस्तो छ भनेर साउदले प्रहरीकहाँ खबर गरेँ सुरुमा,’ प्रहरी नायब निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो। पछि प्रहरीसमक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन्।’
मृतक मनिषाका एक छोरा र एक छोरी छन्। मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।