काठमाडौँ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा छापा माध्यमहरुले भोगिरहेका समस्या र समाधानमा गर्नुपर्ने प्रयासका वारेमा छलफल भएको छ । साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल र नेपाल चाइना मिडिया फोरमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल भएको हो ।
कार्यक्रममा छापा माध्यमको महत्त्व र गरिमा अझै बाँकी रहेको हुँदा त्यसको प्रभावकारितालाई केन्द्रमा राखेर समाचार प्रकाशित गर्न सके आत्तिनु पर्ने अवस्था अझै आइनसकेको बिषयमा समेमत मन्थन भएको थियो ।
कार्यक्रममा ‘नेपाल चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।
साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रवक्ता दिपक खनालले ‘छापा माध्यमका समस्या र सम्बद्ध पक्षहरूसँग अपेक्षा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै खनालले सूचना प्रविधिमा भएको तीव्र विकासले छापा माध्यमहरूका पाठक अवश्य घटेका छन् तर छापाको सान्दर्भिकता भने सकिएको छैन । खनालले पत्रकारिताका समस्या निराकरणको लागि स्वयम् छापा माध्यमहरूले आफूलाई परिष्कृत बनाउने र समय सापेक्ष ढाल्नु पर्ने बताए । समाचारका विषयवस्तु र त्यसको प्रस्तुतीकरण विगतमा झैँ गर्ने हो भने छापा माध्यम नटिक्ने यथार्थतामा जोड दिँदै उनले भने,‘अब छापाले समाचार ब्रेकिंग गर्नेबारे सोच्ने होइन बरु समाचारको गहिराइलाई नाप्ने काम गर्नुपर्छ । न्यु मिडियाले दिन नसकेका र छुटाएका विषयवस्तुमा केन्द्रित रहेर समाचार प्रकाशित गर्ने हो भने अझै पनि अखबारले पाठक पाउन सक्ने सम्भावना जीवितै छ ।’
नेपालचीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सीताराम भट्टराईले कूटनीतिमा मिडियाको अहम् र प्रभावकारी भूमिका हुने बताए । नेपाल९चीन सम्बन्धलाई अझ प्रगाढ र द्विपक्षीय हितको बाटोमा डो¥याउने मिडियाले जे जति मात्रामा काम गर्न सक्थ्यो त्यसो हुन नसकेको उनको निष्कर्ष थियो ।
नेपाली मिडियाले नेपाल चीन सम्बन्धलाई ठीकसँग बुझ्न नसकेको बताउँदै उनले भने,‘हामीसँग धेरै उदाहरण छन् जसले हाम्रा मिडियाले चीनसँगको सम्बन्धमा रहेको संवेदनशीलतालाई नबुझेको प्रमाणित गर्छन् । त्यसैगरी,उही विषय र प्रसङ्गमा परस्पर विरोधी अर्थ लाग्ने समाचारहरू भिन्न भिन्न मिडियामा प्रकाशित हुने गरेको तीतो यथार्थता दुई मुलुकवीचको सम्बन्धमा दरार ल्याउने विषय बन्न सक्छ ।“ उनले चिनियाँ पक्षले पनि नेपाली मिडियालाई समयमा नै सही सूचना दिने र सूचनाको पहुँचमा रहनुपर्ने बताए ।
नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाली छापा माध्यमले हाल भोगिरहेको समस्यालाई परास्त गर्न नयाँ ढङ्गले सोच्नु पर्ने बताए । उनले छापा माध्यमको महत्त्व र गरिमा अझै बाँकी नै रहेको हुँदा त्यसको प्रभावकारितालाई केन्द्रमा राखेर समाचार प्रकाशित गर्न सके आत्तिनु पर्ने अवस्था अझै आइनसकेको टिप्पणी गरे । श्रेष्ठले नेपाली मिडियाले नेपाल चीन सम्बन्धलाई अझै मजबुत पार्न दुई मुलुकबीच भइरहेका संवाद,सहकार्य र आपसी साझेदारीलाई इमानदारिताका साथ आम नागरिकसमक्ष पु¥याउने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्तब्य राख्दै नेपाली छापा माध्यमले भोगिरहेका समस्यालाई सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित निकायलाई समेत सक्रिय गराउन आफूले पहलकदमी लिने प्रतिवद्दता व्यक्त गरे । नेपाल चीन सम्बन्धलाई थप मजबुत बनाउन नेपाली मिडियाले स्वतन्त्र र व्यावसायिक भएर सोहीअनुसारका लेख,रचना,समाचार र टिप्पणीहरू प्रकाशितरप्रसारित गरे मात्रै पनि पुग्ने बताए । मिडियालाई जिम्मेवार बन्न र कुनै पनि अर्को मुलुकसँग जोडिएका विषयमा काम गर्दा सजग रहन उनले आग्रह गरे ।
वरिष्ठ पत्रकारहरू राजन कार्की,महेश्वर दाहाल,खिलबहादुर भण्डारी,बिश्वमणि सुवेदी,बालकृष्ण चापागाईं, निर्मला शर्मा,पुष्प प्रधानले प्रस्तुत दुवै कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेपालका ४ दर्जन बढी बरिष्ठ पत्रकारसहित सरोकारवालाको उपस्थिति रहेको थियो ।