काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार भएको दुई पक्षीय भेटवार्तामा मन्त्री शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन्।
भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको स्वीकार्ने बताइन् । नेपाल र चीनबीच घनिष्ठ छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने बताइन् ।
मन्त्री शर्माले आफूहरूले आफ्नै भू–उपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापी रूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उल्लेख गर्दै प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन् ।
उनले विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिने विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशहरूसँग ज्ञान र सीपको आदानप्रदान गर्न चाहेको बताइन् ।
सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको उल्लेख गर्दै यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन्।
भेटवार्ताको क्रममा नेपालका लागि चिनियाँ राजदूत सोङले सूचना प्रविध र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । दुवै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिन सक्ने भन्दै उनले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताए ।
चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उनले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताए । डेटा एप्लिकेसनको क्षेत्रमा चीनले विश्वमै अगुवाई गरिरहेको उल्लेख गर्दै उनले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउन सक्ने बताए ।
उनले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। भेटमा दुवै देशका अधिकारीहरूको सहभागिता थियो ।




