May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

सामाजिक मानसिकता परिवर्तनका एजेण्डाहरू खोई ?

1K

अमानवियताको पराकाष्ट नेपाली छोरीहरूले कहिलेसम्म भोग्नुपर्ने हो ?

नेपाल यतीवेला स्थानिय चुनावी माहोलमा होमिएको छ । विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरू चुनावी तालमेलसंगै कुर्सी वचाउ अभियानमा घरदैलो गरिरहेका छन् । राजनितिक पार्टीका होनहार नेताहरू, देशका पूर्वप्रधानमंत्रीहरू, मंत्रीहरूदेखी पार्टीका कार्यकर्ताहरूका एकअर्कालाई गाली गलौच र आरोप-प्रत्यारोपका चर्का भाषणहरू सामाजिक संजालहरूमा हांस्यास्पद रूपमा भाईरल भईरहेका छन् । हाम्रो देशका नेताहरूको कतिवेला कुन पार्टीसंग अफेयर चल्छ र कतिवेला डिभोर्स अनी पानी बाराबार हुन्छ, पत्तो नै हुँदैन । समर्थन, विरोध, हानाहान,तानातान र जानाजानको चरित्र सर्पले काँचुली फेरे झैं फेरिरहन्छन् भन्ने कुरा आम नागरिकहरूले राम्रैसंग बुझिसकेका छन् ।
विभिन्न पार्टीका गजव गजवका चुनावी घोषणापत्रहरू देख्दा, लाग्छ यी पार्टीहरू चुनाव जित्नेवित्तिकै गाँउशहरको स्वरूप नै परिवर्तन हुन्छ, जनताको जीवनस्तरमा ह्वात्तै परिवर्तन आईहाल्छ तर वर्षौदेखी चुनावी घोषणापत्रमा यस्तै यस्तै एजेण्डाहरू देखाएर चुनाव जितिरहेका र पालैपालो कुर्सीको खेल खेलिरहेका यिनै राजनितिक दलहरू होईनन् र ? गत चुनावी घोषणापत्रमा लेखिएका योजनाहरू कार्यान्वयनमा सिन्को नभाच्ने यिनै अनुहारहरू होईनन् र ? गत चुनावी घोषणापत्रमा लेखिएका एजेण्डाहरू कति पुरा भए भनेर आम मतदाताहरूले प्रश्न नसोधी, यसपटक पनि तिनै दलहरूलाई आँखा चिम्लिएर मतदान गर्ने हो भने मतदाताहरू पनि देश विकासको वाधक हुन् भन्ने बुझिन्छ ।
आम नेपाली नागरिकहरूका लागी नेपाल सरकार अभिभावक बनेको छ की छैन ? राहदानी विभाग, श्रम विभाग, मालपोत लगायत सरकारी कामकाजहरू समयमा भएका छन् कि छैनन् ? शिक्षा, स्वास्थ्य तथा दैनिक आधारभूत आवश्यकताहरूवाट वन्चित नेपालीहरूका लागि कुन राजनितिक दलले जोड दिएको छ ? सडकका पेटी मुनी छट्पटाउने निमुखाहरूका दैनिकी कसरी गुज्रेको छ भन्ने कुरा कुन पार्टीले बुझेको छ ? विरामी उपचारको बिल तिर्न नसक्दा अस्पतालबाट निकालिनेहरूको समस्या कसले सुल्झाएको छ ? वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीहरूको शव व्यवस्थापन तथा विभिन्न समस्यामा परेर गुहार मागिरहेका नेपालीहरूका लागि नेपाल सरकारको सहयोगी भूमिका कस्तो छ ? यी यावत कुराहरू सोध्ने सहि समय अहिले नै हो । यदी मतदाताहरूले विगतमा झै मौन समर्थन गरेर भ्रष्ट्राचारीहरूलाई नै शत्तामा पुर्याउने हो भने उनीहरूको लुट्ने काम, पुरानै शैलिमा लुटिरहन्छन् ।

हामी बजारबाट ल्याएको एकजोर चप्पलको साईज मिलेन भने फिर्ता गर्छौ, एक किलो आलु किन्दा छानी छानी किन्छौ, विवाह गरेको श्रीमान श्रीमतीको कुरा मिलेन भने अदालत गएर डिभोर्स गर्छौं तर एउटा सही नेतृत्व किन चुन्न सक्दैनौ ?

Advertisement


विभिन्न पार्टीहरू तथा स्थानिय जन प्रतिनिधिहरूको चुनावी एजेण्डाहरू पढिरहँदा अनायासै मनको कुनामा चसक्क घोच्यो अनी प्रश्नै प्रश्न बोकेर कलम सल्वलाउन थाल्यो । हुनत मनभरी हजारौं प्रश्नहरू अनुत्तरितरूपमा छट्पटाईरहेका हुन्छन्, मौनरूपमा सल्वलाईरहेका अनुत्तरित प्रश्नहरूको चित्तवुझ्दो उत्तर आजसम्म न राज्यले दिन सकेको छ, न समाजले नै । सबै राजनितिक दलहरूले चुनावी घोषणापत्रहरूमा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारहरूलाई लिएर चुनावी एजेण्डाहरू बनाए तर गाँउसमाजमा दिनानुदिन भईरहेका घरेलु हिंसा, कलिला नावालिकाहरूमाथी हुने शारीरिक दुर्व्यवहार, बलात्कार पछिको निर्मम हत्या, बोक्सीप्रथा, दोईजोप्रथा लगायतका विषयहरूमा आवश्यक पर्ने सामाजिक जनचेतनाको बारेमा कसैले लेखेनन् । विश्व २१ औं शताव्दीमा दौडिरहँदा नेपाली समुदायले भोग्नुपरेका अनेकौ अन्धविश्वास कुरिति र कुसंस्कारभित्र लुकेको मानसिकता अन्त्यको लागी अझै केही पुस्ताले राजनितिक तथा सामाजिक क्रान्ति गर्नुपर्ने देखिन्छ । कानुनको पानामा मात्र लेखिदिएर कहाँ हुँदोरहेछ र, केही समयअघि कञ्चनपुरकी ४३ वर्षीया रञ्चुला साउदलाई बोक्सी लागेको भन्दै झाँक्रीहरुले थुनेर राखेको अवस्थामै शंकास्पद मृत्यु भयो । उपचारका नाममा निर्मम तरिकाबाट तातो फलामले डाम्नु हदैसम्मको अमानवीय अपराध हो तर, ६ दिनसम्म थुनिंदा सिंगो समाज, परिवार र आफन्तले समेत किन उद्दार गर्न सकेन ? अझैपनि हाम्रो समाजमा बोक्सी र धामीझाँक्रीको अन्धविश्वासले कतिसम्म गाँजेको रहेछ भन्ने वुझ्न सकिन्छ ।
दाईजो प्रथा कानुनी रूपमा अवैधानिक भएतापनि सामाजिक र व्यावहारिक रूपमा नराम्रोसंग जरो गाडेर बसेको छ । विशेष गरी नेपालको तराई मधेशका महिलाहरूले मनग्य दाईजो नल्याएकै कारण मृत्युलाई रोज्नु परेको छ । वीरगञ्जकी २० की वर्षिय सुनिता यादव, पर्साकी २३ वर्षिय रिकु पटेल, धनुषाकी २० वर्षीय कृति झा, पर्साकी २२ बर्षीय मधुमाला कुमारी लगायतका भर्भराउँदो उमेरका धेरै महिलाहरूको दाईजो कम ल्याएकै कारण हत्या भयो । हेटौंडाकी २२ वर्षीय सुस्मिता थापालाई वैदेशिक रोजगारीमा रहेको श्रीमानको दुर्घटनामा मृत्यु भएपश्चात छोराको मृत्युको कारण बुहारी भएको भन्दै अन्धविश्वासी मानसिकताभित्र रूमलिएका परिवारले निर्मम यातना दिंदै मारेको पुष्टी भयो ।
गत महिना रुपन्देही तिलोत्तमाकी २९ वर्षीय अमृता टन्डन खत्रीको शंकास्पद मृत्यु प्रकरणलाई लिएर अहिले सामाजिक संजाल तथा विभिन्न मिडियाहरूमा हेडलाईन बनिरहेका छन् । कपन बालुवाखानीकी अस्मिता चौधरीलाई आफ्नै श्रीमानले तातो तेल खन्याएर जलाउने प्रयास गरे तर उनी जलेको शरिर लिएर भाग्न सफल भईन र अहिले अस्पतालको शैयामा छट्पटाईरहेकी छिन् । यसरी दिनानुदिन महिलाहरूले अनेकौ बहानामा हिंसामा परिरहँदा महिला राष्ट्रपती भएको देशमा यस्ता प्रकृतिका घटनाहरू दोहोरिरहँदा यस्ता घटनाहरूप्रती चासो दिएर न्यूनिरकणको लागि कुनै कदम चालिएको देखिँदैन । आजको युगमा पनि अन्धविश्वासकै कारण महिलाहरूले ज्यान गुमाईरहँदा पनि खासै कुनै दल या नेताहरूलाई छोएको देखिँदैन। आखिर किन यो स्थानिय निर्वाचनमा उठेका विभिन्न दलहरूका उमेद्वारहरूले आफ्नो क्षेत्रमा महिला हिंसा हुन नदिने प्रतिवद्दता गर्न सकेनन् ? सामाजिक मानसिकता परिवर्तनको लागि स्थानिय नेताहरूको महत्वपूर्ण भुमिका रहने भएतापनि, अमानविय घटनाहरूको विरूद्दमा आवाज नउठाउने हो भने राजनीति गर्नुको पनि कुनै अर्थ छैन।
जब सम्म विवाह पश्चात पनि महिलाहरूलाई श्रीमानपक्षले स्विकार नगरे बिना शर्त माईतीको ढोका खुल्ला हुँदैन, सामाजिक मानसिकतामा परिवर्तन आउँदैन, खोक्रो इज्जतको आडम्वरमा आफ्नै छोरीचेलीहरूलाई यातनाको शिकार बनाईन्छ तवसम्म नेपाली पुस्ताले दिउँसै राँको बालेर मानवियताको खोजी गरिरहनुपर्नेछ । यो अमुल्य जिन्दगि नेपाली छोरीचेलीहरूका लागि गलामा झुण्डिएको चुडिएर जाने एक सर्को पोते र सिउँदोमा रंगिएको पखालिएर जाने एक धर्को सिंदुरभन्दा सस्तो भईरहेको छ । कैयौं चेलीहरूले चाहेर पनि बाँच्न पाएका छैनन् भने कयौ चेलीहरू बाँचेर पनि पलपल मरिरहेका छन् ।
कलिलै उमेरमा बलात्कृत हुन विवश भएका नावालिकाहरू या उमेर पुगेर पनि हरेक दिन बलात्कृत भएका हजारौ महिलाहरूको बिग्रिएको कहालिलाग्दो मानसिक अवस्थाको मनोपचार अति आवश्यक रहेको यथार्थता, यो स्थानिय निर्वाचनमा कुनै दलहरूले आफ्नो एजेण्डामा लेखेको देखिएन । एकातिर बढ्दो महंगी, भष्ट्राचार, बेरोजगारी तथा शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रहरूमा समेत व्यापारिकरण हुँदा दिनानुदिन वैदेशिक रोजगारीमा होमिएका युवाहरूको कहालिलाग्दो अवस्था छँदैछ भने अर्कोतिर देशभित्र मौलाएको वेथिती, विसंङ्गती तथा नकारात्मक सोचको परिणाम सिङ्गो समुदाय डिप्रेशनको शिकार भईरहेको छ । वैदेशिक रोजगारीमा गएका युवाहरू काठको बाकसमा फर्किदाको कारूणिक पिडा होस् या वैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बेमेलको कारण लाखौँ परिवारहरूको सम्वन्ध टुटेको अवस्था होस्, उनीहरूको मनमा अशान्तिले बस्ति बसाईरहेको हुन्छ । आम जनमानसको अशान्त मनलाई ठूला ठूला भ्यूटावरहरू, विशाल स्कूल र कलेजका भवनहरू, चिल्ला कालोपत्रे सडकहरूले मनोवैज्ञानिक उपचार गर्न सक्दैन तसर्थ सरकारले मनोविशेषज्ञहरूलाई लाखौँ खर्च गरेर गाँउगाउँ पठाउनुपर्ने अवस्था देखिन्छ ।
विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरूले समेत महिला तथा बालबालिकामाथी हुने हिंसालाई हुर्काईरहेका छन् भन्दा फरक नपर्ला । राजनितिक दलहरूले महिलाहरूलाई चुनावमा भोट खसाल्ने साधनको रूपमा समेत प्रयोग गर्दै आईरहेको देखिन्छ, होईनभने किन राजनितिक आडमा नै अपराधीहरू खुलेआम छुटिरहेका हुन्छन् ? हिजोसम्म हिलो छ्यापाछ्याप गरेर कुकुर बिरालो झै बसेका कार्यकर्ताहरू चुनावी गठवन्धनको तालमेल भएपछी कांग्रेसले सूर्यमा, कम्युनिष्टले रूखमा भोट हालेर कुर्सी बचाउ अभियानमा दौडधुप गरिरहेको देख्दा नेपालको राजनितिकर्मीहरू धमिलो पानीमा माछा मार्नकै लागि मात्र समाजसेवाको भजन गाईरहेका रहेछन् भन्ने प्रश्टै हुन्छ । आफ्नो सैदान्तिक या वैचारिक लडाइंलाई नै तिलान्जली दिंदै विपक्षी दलको चुनाव चिन्ह्रमा भोट खसाल्नुलाई प्रजातान्त्रिक प्रणाली मान्ने कि नमान्ने ? होईन भने प्रजातान्त्रिक प्रणालीमा त जनमतलाई स्विकार गर्नुपर्ने होईन र ?
जनताको सेवक बन्छु भनेर उम्मेदवार बन्नेहरूको तमासा पनि कहाँ कम छन् र ? कुनै उम्मेदवारको सुन चोरेको दृष्य भाईरल भईरहेको छ, कतै कुटाकुट गरिएका दृष्यहरू बाहिरिएका छन्, कतै गठवन्धनको विरोधमा वागी उम्मेदवारहरूले चुनौती दिईरहेका छन । काठमाण्डौका मेयर पदका उम्मेदवारले त सार्वजनिक स्टेजबाटै आक्रोशित हुँदै, एक महिला विद्यार्थीको प्रश्नको सामना गर्न नसकी “थुतुनो ठिक भएन” भन्ने अभिव्यक्ति दिए ।
यतीवेला, गाउँ गाउँमा मासुभात र रक्सीका भोजहरू आयोजना शुरू भईसकेका होलान्, भोटको लागि नोटको चलखेल पनि शुरू भईसकेको होला, भित्रभित्रै विभिन्न प्रलोभनका खेतीहरू मौलाउँदै होलान् तर आम मतदाताहरूले आफ्नो विवेक प्रयोग नगर्ने हो भने भविष्यमा गरिने पश्चातापको कुनै अर्थ छैन, तसर्थ यसपटकको स्थानिय निर्वाचनका उम्मेदवारहरूलाई टोलटोलमा बोलाएर आम समस्याको बारेमा प्रश्न गर्नुहोस् । घोषणापत्रहरू पढ्नुहोस् अनी पढ्न नजान्नेलाई पढेर सुनाउनुहोस् । कांग्रेस, कम्यूनिष्ट र अन्य दलका होनहार नेताहरूले चुनावी तालमेलको नाममा विपक्षहरूलाई सहजै भोट खसालेर जिताउँछन् भने तपाईंले पार्टी परिवर्तन गरेर केही फरक पर्दैन । बोली र व्यावहारमा परिपक्व लागेको आशालाग्दो युवा अनुहारलाई मतदान गरेर देशको सुन्दर भविष्य निर्माणमा सहयोग गरौं।
शुभद्रा भण्डारी,
हाल अष्ट्रिया-युरोप