June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

काममा स्वास्थ्य र सुरक्षा कानुनी आवश्यकता : बेलायतबाट नेपालीहरुले सिक्न पर्ने कुरा

1.4K

बेलायत आए पछि नयाँ परिवेशमा धेरै विषयहरू नयाँ लाग्नु स्वाभाविक नै थियो । राती काम सकेर ढोका माथिको हीटर निभाउन पर्यो भनेर यसो हेरेको स्विच अलि माथि रहेछ । अगाडि लामो डस्टप्यान भएकोले त्यही प्रयोग गर्न खोजेको साहुजीले ” ए पख्नुस् पख्नुस् त्यो त फलाम हो बिजुलीको स्विच नछुनु “, भनेकोले रोकिए । अलि रमाइलो गर्नपर्ने खालको साहु थियो, कहाँ नेपाल हो र वकीलसाप धेरै कुराको विचार पुर्याउनपर्छ भनेर केही शिक्षा दिन थाल्यो । त्यस पछि मेचमा उक्लेर होशियारी पूर्वक आफूले नभ्याउने स्विचहरु बन्द गर्न थालें।नेपालमा हुँदा बत्तीको तार दाँतले चिथोरेर स्विच वालप्लगमा घुसारेको झल्झली याद आयो ।

मोप लगाउँदा “सरसफाइ हुँदैछ, भुई भिजेको छ” भन्ने बोर्ड राख्नपर्ने अन्यथा कोही चिप्लेर लड्यो भने हामी जवाफदेही हुनपर्ने भन्ने पनि जानकारी भयो।त्यहीताका पत्रपत्रिकामा एकजना ग्राहकलाई कफी शरीरमा पोखिएर पोलेकोले अदालतमा मुद्धा हाल्न पुगेको र अब आइन्दा टेकअवे कपमा ‘कफी तातो छ’ भनेर स्पष्ट लेख्नपर्नेछ भन्ने आदेश आएको खबर पढेको थिएँ ।

एकसाँझ रेस्टुरेन्ट अलि खचाखच नै थियो । एक्कासी सबैजना हतारहतार उठेर पछाडि पार्किंग एरियामा गएर जम्माभए । म तीन छक्कपरें ।अर्कोसाथीले बाहिर जाउँ आगोलागेको आलराम बजेको सुनेन भन्न थाल्यो । आवाज त सुनियो तर के को ? किन ? के गर्नपर्ने भन्ने त थाहा थिएन । पछि थाहाभयो भान्सामा आएको धेरै धुवाँले डिटेक्टर कराउन थालेको रहेछ । यस्तो आवाज आएपछि सबैजना तोकिएको ठाउँमा जम्मा हुनपर्ने रहेछ । सबैठीक छ भनेपछि मात्रै फेरि सबैजना भित्र पस्न पाउने रहेछ ।

यहाँ आएको छ महिना पछाडि देखि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा भागलिन थालेँ । हलमा मानिसहरु जम्मा भैसकेपछि कार्यक्रमशुरू हुनुभन्दा अगाडि त्यो भवनमा शौचालय कता छ ? कथमकदाचित् आगलागी भएमा कुनकुन ढोकाबाट निस्केर कता जम्मा हुने भन्ने सबै भन्नपर्नेरहेछ । यो त कानुनी बाध्यता रहेछ भन्ने कुरा अलिपछि मात्रै थाहा भयो ।

आफ्नै रेस्टुरेन्ट खोली सकेपछि यी सबै नियमकानुनहरु आफैले बुझ्नपर्ने र सँबैलाई जानकारी दिनपर्नेभयो । खाना स्टोर गर्दा, तयारी गर्दा , पकाउँदा , ग्राहकसम्म पुर्याउँदा, सरसफाईमा ध्यान दिनपर्ने धेरै विषयहरू जानकारी भएर मात्रै नपुग्ने त्यसको तालिम पास गरेको प्रमाणपत्र नै चाहिने । कथमकदाचित् आगलागी भयोभने के गर्ने ? त्यसलाई रोक्न के कस्तो उपाएहरु अवलम्बन गर्नपर्ने ? कानुनले निर्दिष्ट गरेका सबै कुराहरू पालना गर्नपर्ने , कसैलाई चोटपटक लागेमा प्राथमिक उपचार गर्नसक्ने तालिम प्राप्त व्यक्ति हुन पर्ने यावत् नियम कानुनहरु पूरा गर्नपर्दा कहिलेकाहिँ त बेकारमा आफ्नो व्यवसाय थालिएछ भनेर दिक्दारी पनि लाग्थ्यो । तर बिस्तारै बानी पर्दै गएपछि यी सबै विषयहरू त होशियारीका साथ काम गर्नपर्छ भन्ने थाहा भएपछि अलि सहज भयो । यसलाई दैनिक रुटिनको रूपमा दस्तावेजजीकरण गर्दै जाँदा खासै गाह्रो नहुने रहेछ ।

अहिले एउटा ठूलो प्राइभेट स्कुलमा काम गरेपछि थप अर्को एउटा अनुभव प्राप्त गर्न पाएँ ।मैले काम थालेको करिब दुईमहिना पछाडि होला भोलि लकडाउन छ भनेर सल्लाह गर्दै थियो । मैले सोचे भोलि स्कूल बन्द हुनेहोला आउन नपर्ने पो होकि ? पछि कुरा बुझ्दा कथमकदाचित विद्यालयमा कुनै आतङ्ककारी हमला भयो भने के कस्ता उपायहरू अवलम्बन गर्नपर्छ भन्ने छुट्टै कानुनी व्यवस्था रहेछ ।यो प्रक्रियामा विद्यालयमा उपस्थित सबैको आआफ्नो जिम्मेदारी तोकिएको हुँदोरहेछ । लकडाउनको साइरन बजेपछि आफूरहेको कोठाको सबै झ्याल बन्द र ढोकामा साँचो लगाउने, झ्यालको पर्दा ( ब्लाइन्ड) लगाउने , सबैजना भुइँमा सकेसम्म छेकिने ठाउँ मेच टेबल मुनि सुतेर नबोलीकन लुक्ने, मोबायल फोन बन्द गर्ने । यस्तो प्राक्टिस वर्षमा एकपटक गर्न पर्नेरहेछ ।

भवनमा जडान गरिएका आलरामका डिटेक्टर हरु काम गर्छ कि गर्दैन भनेर नियमित जांच त गर्न पर्ने नै भयो तर धेरै मानिसहरु भएका अफिस वा विद्यालयहरूमा बेला बखत थाहा नदिई कनै आलराम बजाई दिने र त्यो साँचो आगलागी भए जस्तै सबै प्रक्रियाहरू पूरा गर्न पर्ने हुन्छ । जसलाई फायर ड्रिल भन्ने गरिँदो रहेछ ।

ठूला-साना भवन निर्माण गर्ने ठाउँमा देखिएको एउटा दृश्यले मलाई सधैं कौतुहलता लागि रहन्थ्यो। निर्माण हुँदै गरेका फलामका डन्डी हरुको टुप्पामा टाढैबाट देखिने प्लास्टिकका विर्कोहरु किन लगाइएको होला भन्ठान्थे। पछि थाहा भयो त्यहाँ काम गर्ने कोही कसैलाई झुक्किएर तिखो फलामले नघोचोस् भनेर बचाउन खोजेको रहेछ । त्यति बेला म झल्झली सम्झिन्छु बाँसको खट लगाएर घर ढलान गर्नेहरु चप्पल लगाएर प्लास्टिकलाई हातमा पञ्जा बनाएर काम गरी रहेकाहरु , जुत्ता बिना पिग साबेल चलाउनेहरु यो संसारमा अझ कति होलान ?

जुन १ १९७४ मा फ्लिक्सबरो केमिकल प्लान्ट को दुर्घटनामा २८ कामदारको मृत्यु र ३६ जना गम्भीर घाइते भए लगत्तै बेलायतले सन् १९७४ को जुलाई ३१ मा Health and Safety at Work etc. Act 1974 निर्माण गरेको थियो। यो कानुनको मुख्य उद्देश्य भनेको कसरी काम गर्ने स्थानलाई स्वास्थ्य र सुरक्षाको जोखिम बाट रोक्ने भन्ने हो । यो कानुन बन्न भन्दा अगाडि करिब अस्सि लाख कामदारहरुको कानुनी रुपमा काम गर्ने स्थानमा स्वास्थ्य र सुरक्षा सम्बन्धी कुनै अधिकार सुनिश्चित थिएन । यो कानुनले काम गर्ने स्थानलाई स्वास्थ्य र सुरक्षाको दृष्टिले सुरक्षित राख्न त्यहा काम गर्ने स्थायी कामदार मात्र हैन रोजगारदाता, प्रशिक्षार्थी हरु, स्वरोजगार हरु, अल्पकालीन कामदारहरु, आपूर्तिकर्ता हरु अझ भनौं त्यहाँ प्रवेश गर्ने सबैको हकमा यो कानुन आकृष्ट हुन्छ ।

यो कानुनमा विभिन्न ८१ वटा दफाहरु मार्फत कसरी काम गर्ने स्थान सुरक्षित राख्न सकिन्छ , यो नियम पालन कसले गर्ने ? नियम उलंघन भएको कसले किटानी गर्ने भन्ने व्यवस्था गरिएको छ । बेलायतमा गरेका ठूला घटनाहरू किन , के , कसले, कहिले, कहाँ कसरी भन्ने बारे गहिरो अध्ययन गरेर थप कानुनी प्रावधान सहित संभावित खतरालाई कम गर्न गर्ने कोशिश गर्दै आएको देखिन्छ । यसरी छुट्टै कानुन बन्न अगाडि पहिलो पटक ” Factories Act 1833″ निर्माण भएको थियो । त्यतिबेला करिब ३००० टेक्स्ट टायल मिल हरु हेर्ने चार जना निरीक्षकहरु व्यवस्था गरिएको थियो । सन् १८६८ मा सम्म ३५ निरीक्षक पुगेको थियो ।

सन् १८४३ मा कोइला खानीमा काम गर्ने मजदुरहरूको अवस्था बारे जांच बुझ् गर्न छुट्टै कमिशन निर्माण गर्यो । त्यतिबेला मजदुरहरूको अवस्था सार्है नै दयनीय भएको यथार्थता सार्वजनिक भएको हुँदा त्यस्तो व्यवस्था गर्न परेको थियो । त्यस पछि Agriculture ( Safety, Health and welfare) Act 1956, Nuclear Installation Act 1959 निर्माण भयो । अहिलेसम्म पनि विभिन्न नयाँ कानुन हरु बन्दै आएको छ ।

कानुनले तोकेको पूर्वाधारहरू पूरा नगर्ने तथा कानुन उलंघन गर्ने सम्बन्धित पक्ष लाई असीमित आर्थिक जरिबाना र कसुर हेरी दुई वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्छ । सन् २०१९/२० मा मात्रै काममा १११ जना कामदारले ज्यान गुमाउन परेको , छ लाख ९३ हजार गम्भीर घाइते र ६५ हजार भन्दा बढी सामान्य घाइते भएका थिए । बिरामी वा दुर्घटनाका कारण ३८.८ मिलियन दिन बराबर घाटा भएको थियो । सन् २०१८/१९ को तथ्याङ्क अनुसार एक वर्षमा रोग र दुर्घटनाको कारण करिब १६.२ बिलियन पाउण्ड खर्च भएको थियो । सन् २०१६/१७ को तथ्याङ्क अनुसार कानुन उलंघन गर्ने ५५४ वटा कम्पनीलाई अदालत बाट करिब ७० मिलियन जरिबाना गरेको थियो ।

आइ एल ओ को तथ्याङ्क अनुसार संसारमा प्रत्येक वर्ष तेईस लाख भन्दा बढी मानिसहरू कामसंग सम्बन्धित घटना वा रोगका कारण ज्यान गुमाउँछन् भने त्यसको झण्डै डेढ सय गुणा मानिसहरू दुघर्टनामा परेर घाइते वा अंगभंग हुन्छन् । यो संख्या सवारी दुर्घटना, युद्ध, हिंशा, एडस वा अन्य रोगका कारण मृत्यु हुने संख्या भन्दा बढी हुन आउँछ । आई एल ओ ले प्रत्येक वर्ष अप्रिल २८ गते ” सेफ्टी एण्ड हेल्थ अट वर्क डे (Safety and Health at Work Day) ” मनाउने गरेको छ । संयुक्त राष्ट्र संघले महतत्वपूर्ण राजनीतिक, सामाजिक, सांस्कृतिक, कानुनी , मानवीय वा मानव अधिकार सम्बन्धी मुद्धाहरुको बारेमा जागरूकता जनचेतना वा सम्झनाको लागि अन्तराष्ट्रिय दिवसहरु घोषणा गर्दै मनाउँदै आएको छ । यही मार्फत संसार भरका मानिसहरुलाई विभिन्न विषयमा संलग्न गराउने , राजनीतिक इच्छा शक्ति र श्रोतहरू परिचालन गर्ने बाताबरण तयार पारी समस्याहरू कमी तथा समाधान गराउने प्रयास गर्दै आएको छ । मानव इतिहासको विकास क्रममा विभिन्न समय भएका महत्व पूर्ण कामहरूका साथसाथै व्यहोर्न परेका कष्ट र समस्याहरूको पनि सम्झना गर्ने चलन छ ।

यही परिवेशमा सन् २००३ देखि कामसँग सम्बन्धित स्वास्थ्य र सुरक्षा दिवस मनाउन थालिएको हो । विश्वव्यापी रूपमा व्यवसायिक दुर्घटना र रोगको रोकथाम गर्न यस अभियान मार्फत अन्तराष्ट्रिय ध्यान केन्द्रित गर्दै आएको छ । काम गर्ने स्थान सुरक्षित र स्वस्थ्य बनाएर यस सँग सम्बन्धित मृत्युदर र दुर्घटनालाई कम गराउन यो दिनले विशेष भूमिका निर्वाह गर्दै आएको छ । अप्रिल २८ कै दिन संसार भरी मृत्यु भएका र घाइते भएका मजदुरहरुलाई सम्झिने दिनको रूपमा अन्तराष्ट्रिय ट्रेड युनियनले सन् १९९६ देखि मनाउन थालेको हो ।

उपचार गराउनु भन्दा रोग लाग्न बाट रोक्नु वा रोकथाममा लाग्नु बेश भनिन्छ । काम गर्ने ठाउँ सुरक्षित राख्न सकियो भने धेरै दुर्घटनाहरु रोक्न सकिन्छ । यो सुरक्षा भौतिक वा शारीरिक रूपमा मात्रै हैन मानसिक रूपमा पनि हुन जरुरी छ । काम गर्ने वातावरण राम्रो भएन भने कामदारमा आउने नैराश्यता र मानसिक तनावले झन् ठूलो क्षति हुन जान्छ । काम गर्ने हरु मात्रै हैन काम गराउनेहरुले पनि धेरै विषयमा ख्याल राख्नु पर्ने हुन्छ। कामदार र मालिकहरूले पालन गर्न पर्ने स्वास्थ्य र सुरक्षा सम्बन्धी विषयहरू सरकारले नै कानुन बनाएर लागू गरिएको हुन्छ । त्यसलाई पालना नगर्ने वा उलंघन गर्नेहरु सजाय भागी हुन्छन् ।

मजदुर आन्दोलनको मागको रूपमा पूरा गरिएका कतिपय व्यवस्थाहरूलाई यो अभियानको अभिन्न अंगको रूपमा लिएको पाइन्छ । काम गर्ने निश्चित समय, बालश्रम बन्देज, महिला पुरुषलाई समान काममा समान तलब, न्यूनतम तलबको व्यवस्था , छुट्टीको व्यवस्था , औषधि उपचार, पेन्सन , बोनस ,जातिवादमा बन्देज , कामको ग्यारेन्टी , सुनवाईको अवसर आदि मानसिक सुरक्षाका विषयहरू हुन् भने काम अनुसारको पोशाक, काम गर्ने ठाउँको भौतिक संरचना , संभावित खतराको पहिचान , भै परि आउने खतराबाट बच्ने उपाय , प्राथमिक उपचारको व्यवस्था आदि भौतिक विषयहरू हुन् ।

यस बर्ष संसारमा कोभिड माहामारीको कारण सृजना भएको भयाबह परिश्थितिबाट सके सम्म छिटो छुट्कारा पाउन “एन्टीसिपेट, प्रिपेर एण्ड रेस्पंड टु क्राइसेस: इन्भेस्ट नाव इन रिजिलिएन्त अकुपेसनल सेफ्टी एण्ड हेल्थ सिस्टम (Anticipate, prepare and respond to crises: Invest now in resilient occupational safety and health systems)” नारा सहित यो अभियान अगाडि बढाउने निर्णय गरेको छ । अविकसित तथा विकासोन्मुख देशहरुले पनि यो अभियानलाई कानुनी रुपमा नै लागु गर्दै काम गर्ने स्थानहरु “स्वस्थ्य र सुरक्षित” राखेर मानवीय र आर्थिक क्षति कम गर्दै लैजान सकियो भने अन्तर्राष्ट्रिय दिवस मनाउनुको खास महत्व प्रमाणित हुनेछ ।