April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

जंगबहादुर राणाः मरे वा मारिए ?

3.1K

जङ्गबहादुर राणा अत्यन्त साहसी, पराक्रमी र शूरवीर शासक थिए । सैनिकका रुपमा पनि उनी जति चतुर थिए, उति नै क्रूर र कठोर पनि थिए । परिस्थितिअनुसार जस्तोसुकै कदम चाल्न सक्ने र मौकाको लाभ उठाउने यिनको विशिष्ट खूबी थियो । इतिहासका जानकारहरू जङ्गबहादुरलाई अत्यन्त चलाख, धूर्त र कुटिल प्रकृतिका शासक मान्दछन् । तर, संसारै हल्लाउने तानाशाहहरूको दुखःद अन्त्य भए झैं जङ्गबहादुरको अन्त्य पनि डरलाग्दै रूपमै भएको नेपाली इतिहासले देखाउँछ ।

कोतपर्व, भण्डारखालपर्व र अलौपर्व हुँदै आफ्ना विरोधीहरूलाई निमिट्यान्न पार्दै अत्यन्त शक्तिशाली बनेका जङ्गबहादुरले आफ्नो विपक्षीहरुको रगतको खोलो बगाएर देशको शासनसत्ता  हत्याए । तत्कालीन राजा सुरेन्द्रमा निहित अधिकारहरू खोसी सिंगो राजपरिवारलाई खोपीको वास गराए । शक्तिमा आएपछि यिनले भारतमा उपनिवेश गर्दै आएका अंग्रेजलाई अनेकौं प्रकारले रिझाई गहिरो मित्रता कायम गरे र आफ्नो अधिनायकवादी सत्तालाई सुरक्षित बनाए । जङ्गबहादुरले यूरोपको भ्रमण गरे, महत्वपूर्ण ओहदाहरू आफ्नै वंशमा सीमित पारे, राष्ट्रको ढुकुटीमा मोजमस्ति गर्दै विलासी जीवन बिताए । यसरी ३० वर्षसम्म देशको बागडोर सम्हालेका जङ्गबहादुरले यो अवधिमा दरबार भित्र होस् या बाहिर कसैलाई चुइँक्क गर्न पनि दिएनन् ।

जङ्गबहादुरको सर्वसत्तावादी शासनको कालो छायाँमा सर्वसाधारणहरू बाँच्न विवश थिए । जनता अत्यन्त निरिह थिए र शासकहरूप्रति उनीहरूको कुनै आशा या अपेक्षा पनि हुँदैनथ्यो । राणाहरूको हुकुम कानून सरह चल्दथ्यो । त्यसको अवज्ञा गर्ने साहस कसैमा थिएन । यस्तो निरंकुश र तानाशाही शासनकालमा पनि भित्रभित्रै जनआक्रोश त थियो तर त्यसले मूर्त रूप लिन पाएको थिएन । जङ्गबहादुर नेपाली इतिहासले बिर्सन नसक्ने तानाशाह बने । अनेकौं हत्या, हिंसा र षड्यन्त्रको बलमा सत्तामा आएका जङ्गबहादुरलाई पनि त्यही सूत्रबाट अन्त्य गर्ने लक्ष्य लिई दरबारिया भारदारहरूबाट अनेकौं षड्यन्त्रहरू भए । तर ति सबै योजनाहरुलाई यिनले एकएक गरेर विफल तुल्याए ।

जीवनको उत्तरार्धमा जङ्गबहादुरले गोरखा, बुङ्कोटको ठूलो विद्रोह पनि व्यहोरे जुन सामान्य प्रकृतिको थिएन । यो पनि सैन्य बलमा निर्ममतापूर्वक दबाइयो । घटनामा लखन थापासहित ७ जना विद्रोहीहरूलाई झुन्ड्याइयो । 

आखिर जङ्गबहादुर जस्ता शक्तिशाली शासकको अन्त्य कहाँ, कसरी र कहिले भयो ? मृत्यु या हत्या ? के थियो त वास्तविकता ? यस आलेखमा यिनै तथ्यहरुको विवेचना गर्ने प्रयास गरिएको छ ।

दुर्लभ दस्तावेज
राणाकालीन इतिहासका विज्ञ पुरुषोत्तमशमशेरले यो लेखकलाई एक हस्तलिखित दस्तावेज देखाएका थिए । आवरणमा उल्लेख थियो – “नेपालको श्री ३ महाराज जङ्ग बहादुर राणा, जीसीबी, जीसीयसआई को जीवन चरित्र” । यिनका अनुसार वि. सं. १९४२ को हिंसामा जङ्गपुत्र जगतजङ्गको हत्यापछि तिनका सबै थोक वीरशमशेरलाई हात लाग्यो, त्यही बेला यो दस्तावेज पनि सँगै आएको र बाजे रुद्रशमशेर (वीरशमशेरका छोरा) बाट बाल्यकालमा यिनलाई प्राप्त भएको रहेछ । यही दस्तावेजको अध्ययन र बाजे (रुद्रशमशेर), बुबा (ईश्वरशमशेर) र काकाबाजेहरू (सिंहशमशेर र प्रचण्डशमशेर) मार्फत संकलित थप जानकारी र केही ऐतिहासिक सामाग्रीहरूका आधारमा यिनले राणाकालीन इतिहास लेखेको प्रसङ्गवश सुनाएका थिए (२०७७ पौष ३ को भेटवार्तामा आधारित) ।

उमेरले ९६ वर्ष पुगेका बयोबृद्ध पुरुषोत्तमशमशेरबाट इतिहास लेखनमा उपयोग गर्न सहर्ष सो दस्तावेजको केही अंश (जङ्गबहादुरको मृत्यु प्रकरण) लेखकलाई तस्विरमा उतार्न अनुमति मिल्यो । दस्तावेज नेपाली कागजमा लेखिएको अत्यन्त जीर्ण र देब्रेतर्फको शीर्षभाग उडिसकेको देखिन्थ्यो । उक्त पाण्डुलिपि कसले, कहिले र कति संख्यामा लेखाए ? त्यो यिनलाई पनि थाहा रहेनछ । तथापि जङ्गबहादुरको सिंगो जीवनीमा आधारित भएकोले जङ्गबहादुरको शेष (१९३३ फागुन) पछि र जगतजङ्ग मारिनु (१९४२ मंसिर) पूर्व यो दस्तावेज राणापरिवारमा अध्ययन प्रयोजनका निम्ति लेखाइएको र तत्कालीन समयको मुख्य मुख्य घटनाहरूको संक्षिप्त टिपोटहरू यसमा परेका छन् । पद्मजङ्गको भाषाशैली र घटनाको विवरण हेर्दा तिनले उपयोग गरेको दुर्लभ सामग्री सम्भवतः यही थियो । उक्त दस्तावेजमा जङ्गबहादुर राणाको मृत्युबारे उल्लेख भएको व्यहोरा यस्तो छ:
“फेव्रुअरी २५ तारीखको दीन गोवीन्द द्वादसी को दीन परेको थीयो, व्याहान महाराज ले वाउन हरूलाई दानगर्ने कर्म गरी बक्स्यो. तेस पछी क्याम्प सर्ने अडरभै वीकुल समेत वज्यो. तेही वखत महाराजा लाई ……पैला दीसा को तुरून्तै वाद वहुतै जाडो जस्तो मालुम भयो. …..घाममा राजभयो र वहुतै ‘जाडो छ’ भनीं वडामाहारानी लाई हुकुं भयो….पछी वहुतै गर्मी भो भनी पाल भीत्र पसी वक्स्यो, तुरून्तै फेरी …जाडो भो भनी वाहीर घाममा सवारी भयो. महाराजाको गाथ्मा अली आराम नभयेजस्तो देखी वडामाहारानी ले हल्ट को वीकुल वजाउनु भन्ने हुकुं भयो र महाराज लाई सोट्याम्म परेको देखी वक्स्यो र गाथमा कस्तो छ भनेर सोधी वक्सँदा केही जवाफ पाई वक्सेन, तर महाराजले महारानी हरूसंग ‘त्यो वोल्ने को हो ?’ भनी सोधी वक्स्यो. महारानी हरूले ‘भतीजा अम्वर जङ्ग हुन् नचीनी वक्सेकोमा सारै ताज्जुव लाग्यो’  भनी वीन्ती चढाई वक्स्यो . महारानले अनी उहाँको आँखाको शक्ती वील्कुल हराई सक्यो अव आखीरी टाइं आई पुगी गयो भन्ने हुकुंभयो. नेपाली वैद्य कृष्णगोवीन्द लाई वोलावट् भयो, नीजले नारी हेरी सकेपछी नारी दवदै गई रहेछ भनी वीन्ती ग–यो. तेस्पछी अरू महारानी हरू सारा रुन थाली वक्स्यो, तर वडामाहारानी चाँही वील्कुल धैर्य धारन गरी आफ्नै वाउली ले अष्टमण्डप तयार गरी वक्सी मुटुको तागतको नीम्ती महाराजा लाई ज्युनार गराउना लाई सो अष्टमण्डप चम्चा मा हालेर वाहुली कमाउँदै महाराजाको मुख भीत्र हाल्दी वक्स्यो . तर फेल भयो महाराजको दाँत वन्द भै सकेको रहेछ , अव वीपरीत को नीम्ती तयार हुन देखी वाहेक अरू केही वाँकी रहेन तेस्पछी तुरून्तै भयानक कम्प भयो र वीक्ष्यौना वाट तल महाराज खसी वक्स्यो. जरुली डाँकवाट काठमाडौंमा रणउदीपसीङ्ग कहाँ ‘महाराज लाई आराम नभै सीकीस्त भयो, जनरल धीर शंशेर लाई, युवराज त्रैलोक्यो वीक्रम साहालाई र उहाँको महारानी ( श्री ५ प्रीथवी वीर वीक्रम साहाको मुमा) लाई तुरुन्त पठाई दीनु’ भन्ने लेखीयेर गयो. महाराज लाई पाल्की मा हाली वडामाहारानी राज्भै पथ्थर घट्टा वागमती तर्फ सवारी चलाये, ६००० नेपाली…(सिपाही)…लागेका थीये. पथ्थर घट्टापुग्नु केही वाँकीमा महाराज ले रगत…(बान्ता)…गरी वक्स्यो; वाटैमा केही भैजाला भन्ने डरभयो. तेस्पछी रीफल पल्टन वाट छेत्री हरू छान्नीई ती छेत्री हरूले पाल्की वोके. पथ्थर घट्टामा सव पु–यायेर वाग्मती को कीनारमा राखे, त्यहाँ नजर आकास तीर फर्काई ईश्र्वर सम्झना गरे जस्तो गरी वक्सी धेरैवेर सम्म अडी वक्स्यो. शन १८७७ फेव्रुअरी २५ तारीख को ठीक आधारातको वीच्मा न वुझीने केही लवज हरू उच्चारन गरी वक्स्यो– सायद ईश्र्वरको प्रार्थना– अनी सान्ती पुर्वक साथ् येस चोला त्यागी वक्सी वैकुण्ठ धाम सवारी भयो.”  (दस्तावेजको तस्वीर)
यो एक प्रकारको वंशावली जस्तै छ । शासकले आफू र आफ्ना स्वार्थ अनुकूल लेखाएको यो सामग्री पढ्दा त्यसबेलाको वास्तविक इतिहास लुकाइएको र घटनालाई बङ्ग्याइएको स्पष्ट हुन्छ ।

पद्मजङ्ग राणा र “लाइफ अफ महाराजा सर जङ्गबहादुर राणा अफ नेपाल” 
पद्मजङ्ग राणा जङ्गबहादुरका साँहिला छोरा थिए । उनी जङ्गबहादुरका अत्यन्त प्रिय थिए । पितानिकट रहँदा यिनले कतिपय दरबारीया गतिविधि नजिकबाट नियालेका थिए र कैयन घटनाका साक्षी स्वयम् थिए । जङ्गबहादुरले तयार पारेको डायरी र राणा परिवारको वंशावली (पुस्तक) हात परेपछि त्यसैको मद्दतबाट यिनले आफ्ना पिताको विस्तृत जीवनकथा लेखेर त्यो पुस्तकको नाम दिए – “लाइफ अफ महाराजा सर जङ्गबहादुर राणा अफ नेपाल” । यो जङ्गबहादुरको जीवनीमा आधारित सवैभन्दा पुरानो एवम् आधिकारिक कृति मानिँदै आएको छ ।
वि. सं १९४२ मंसिरको हत्याकाण्डमा भाग्यले जोगिएका पद्मजङ्ग भारतको इलाहावाद पलायन भई उतै जीवन बिताउन बाध्य भए । उनको कृति आजभन्दा १११ वर्षअघि विं सं. १९६६ मा इलाहावादबाट प्रकाशित भएको र त्यसबेला लेखक पद्मजङ्ग जीवित थिएनन् । २०७४ मा त्यसैको नेपाली अनुवाद “जङ्गबहादुरको जीवनयात्रा” हाल बजारमा उपलब्ध छ । पुस्तकको भाषाशैली, ऐतिहासिक घटनाक्रम र प्रस्तुति निकै रोचक छ । पुस्तकमा जङ्गबहादुरको वीरता, साहस अनि चतुर्याईं, देशभक्ति र कुटनीति लगायतका सकारात्मक पक्षहरूको विशेष चर्चा छ । पद्मजङ्गले कतिपय सन्दर्भमा जङ्गबहादुरको शासकीय कमीकमजोरीलाई पनि मर्यादित ढङ्गले औंल्याएका छन् । जङ्गबहादुरको मृत्युको स्थान, कारण र तिथिमितिका सन्दर्भमा पद्मजङ्गले उल्लिखित दस्तावेजले देखाएकै आधारलाई हुबहु स्थान दिएका छन् । पुरुषोत्तमशमशेरले पनि “श्री ३ हरूको तथ्य वृत्तान्त” मा प्रमोदशमशेरले “राणाशासनको वृत्तान्त” मा समान धारणा राखेको पाइन्छ ।

मृत्युको कारण 
सिकारको निमित्त १९३३ मंसिर २४ गते राजधानीबाट निस्केका जङ्गसहितको टोली थानकोट हुँदै ठाउँ ठाउँमा बास बस्दै हेटौंडा, सिम्रौनगढमा हुँदै सिकार कै क्रममा दक्षिण तराईको जङ्गल झरेका थिए, सोही ईलाकामा जङ्गबहादुरको अकस्मात मृत्यु हुन पुग्यो । यसबारे सवैजसो सहमत देखिन्छन् तर उनको मृत्युको वास्तविकताको सन्दर्भमा विद्वानहरूको मत फरक फरक रहेको पाइन्छ । बाबुराम आचार्यका शब्दमा “जङ्गबहादुरलाई धीरशमशेरले मार्न लगाएका हुन्” (पूर्णिमा, पूर्णाङ्क–२३) । त्यस्तै “जोसमनी सन्तपरम्परा र साहित्य” का लेखक जनकलाल शर्माले “जङ्गबहादुरको आठपहरिया बोगटीछेत्रीले बाघलाई हान्ने निहुँ गरेर जङ्गबहादुरको छातीमा गोली ठोक्यो र उनको इहलीलालाई शिकारको साथै विसर्जन गरिदियो भनेका छन् । जङ्गबहादुरको यस हत्याकाण्डले त्यहाँका कुनै पनि व्यक्ति विचलित भएनन्” (२०५२: ६७) भनी उल्लेख गरेका छन् ।

“जङ्गबहादुरको हत्याकाण्डमा सम्मिलित हुने सिकारमा गएका जम्मा ८२ जना थिए । यस सम्बन्धमा भनिन्छ – माथि उल्लेख गरिएका सबै व्यक्तिले पहिले नै आफ्नो सहीछाप गरेर जङ्गबहादुरको हत्या गर्ने र त्यसको रहस्य कतै पनि उद्घाटन नगर्ने मतो गरेका थिए । अतः जङ्गबहादुरको मृत्यु एउटा सेतो बाघद्वारा भयो भन्ने प्रचार गरियो । साथै उनको लाशलाई कपडाले मोहोरेर एउटा बाकसमा राखियो र त्यो बाकस नखोलिकनै उनको दाहसंस्कार गरियो । उनीसित सती हुने पत्नीहरूले जङ्गबहादुरको मुख हेर्ने अभिलाषा प्रकट गरे तापनि उनीहरूलाई त्यो शवको मुख हेर्ने आज्ञा दिइएन” (उही) ।

जङ्गबहादुरको मृत्यु सिकार खेल्ने क्रममा हात्तिबाट लडेर, हात्तिले कुल्चिएर, सेतो बाघको आक्रमणमा परेर, धीरशमशेरको षड्यन्त्रमा परेर, हैजा लागेर भएको कुरा इतिहासकारहरूले बताउँदै आएका छन् । एक दिन अघि बाघको सफल सिकार गरेका जङ्गबहादुर भोलिपल्टै एक्कासी कालगतिले कसरी मरे त ? त्यो पनि उमेरले ६० नकटेका निरोगी मान्छे ? यसको चित्तबुझ्दो जवाफ दिन सकिएको छैन । 
जनकलाल शर्माले भनेझैं सिकारदलको संख्या ८२ नभई ६००० रहेको माथिको दस्तावेजले देखाउँछ । सिकारदल यति ठूलो संख्यामा थियो भनी पत्याउन गाह्रो छ, बरु सुरक्षा व्यवस्था कमजोर थिएन भन्न सकिएला । यस्तो अवस्थामा पनि जङ्गको हत्या कसरी सम्भव भयो होला ? यो रहस्यमयी मृत्यु इतिहासकै गर्भमा छ । संसारका ठूल्ठूला शासक, सामन्तीहरूको अकाल मृत्युलाई लुकाइएको हुँदा जङ्गबहादुरको मृत्यु लुकाइनु नौलो विषय होइन ।

लोक आख्यान ‘नेपालको इतिहासका केही अपुष्ट पक्षहरू’ का लेखक मधुसूदन पाण्डेयले मधुमास, मासिक (वर्ष १, अंक ३, २०५० भाद्र) लाई पादटिप्पणीमा राख्दै लेखेका छन् – केही बुढापाकाहरू ‘जङ्गबहादुरलाई लिँडे बाघले मारेको’ बताउँछन् । यो रोचक कथा ‘राणाकालीन नेपाल र राना मगरको वंशावली’ मा आधारित रहेको (२०५७: १५७) लेखकको भनाइ छ, जो यसप्रकार छः
वंशावली अनुसार जंगबहादुर सुरा र सुन्दरी भनेपछि हुरुक्कै हुन्थे । राम्री युवती जहाँ पाए पनि दरवारमा हाजिर गराउनू भनी सैनिकहरूले आदेश पाएका हुन्थे । वि.सं.१९३३ मा सिकार खेल्न जाँदा पनि त्यस्तै आदेश भएको थियो । सैनिकहरूले गस्ती गरिरहेकै वेला पत्थरघट्टामा भर्खरै विवाह भएकी एक युवतीलाई उनीहरूले देख्नेवित्तिकै उसको श्रीमानको हातबाट छुटाएर जंगबहादुरकहाँ सुम्पिदिए । भर्खरै विवाह गरेको मगर ठिटो पत्नीवियोगमा विह्वल थियो । भोलिपल्ट उसले जंगबहादुरसंग बदला लिने योजना बनायो । लडेर फिर्ता ल्याउन सकिने सम्भावना नभएको हुँदा उसले कम्मरमा खुकुरी लुकाई जंगबहादुरको आखेट शिविरमा गई ‘अन्याय भयो प्रभु, न्याय पाऊँ, भेट पाऊँ अन्यथा सेरिएर मर्छु’ भन्दै आलापविलाप गर्दै रूनकराउन थाल्यो । जंगबहादुरले एकाविहानै अपहत्याको पाप नलागोस् भनेर दर्शन दिए र परेको मर्काबारे सोधनी गरे । मगर केटोले ‘जार साध्न पाऊँ सरकार’ भनेर विन्ती गर्यो । जंगबहादुरले ‘यति जाबो कुरा पनि मसंग भन्न आउनुपर्छ ? तैंले जार साध्न पाइस्’ भनेर आदेश दिए । मगर केटाले ‘मेरो जार ठूलै छ प्रभु ! प्रभुले औंठीछाप बक्सिए सजिलो हुनेथियो’ भन्दै आफ्नो पटुकाबाट सानो नेपाली कागजको टुक्रा जंगबहादुरका हातमा दियो र जंगबहादुरले पनि तैंले जार साध्न पाइस् भनेर लेखिदिंदै औंठीछाप लगाइदिएर सो कागज मगर केटालाई हातमा दिन मात्र के लागेका थिए, मगर ठिटाले कागज देब्रे हातले लिँदै दाहिने हातले कम्मरको खुकुरी फुत्त झिकी जंगबहादुरको गर्धनमा बजार्यो । जंगबहादुर ढले र एकैछिनमा मरे । सैनिकहरू आई मगर केटालाई पक्रेपछि उसले औंठीछाप देखाउन थाल्यो । सवै सैनिकहरू चकित परे र मगर केटाले आफ्नी श्रीमती लिएर गयो (२०५७: १५८) ।

त्यसैवेलादेखि चलेको जनश्रुतिमा ‘लिँडे बाघ’ भनेर त्यही मगर केटालाई औल्याइएको हो । लिँडे शब्दको अर्थ पुच्छर काटिएको वा नभएको र अर्काे अर्थ एकोहोरो स्वभावको वा जिद्दी, हठी हो । यो प्रसङ्गमा दुवैको उपयोग भएको छ । प्रायः मगरहरू हठी स्वभावको हुने र कुनै कुरा चिताए वा आँटे निरन्तर त्यसैमा एकोहोरो लागेर भए पनि काम फत्ते गरी छाड्छन् । उल्लिखित वंशावलीले यस्तै स्वभाव वा प्रकृतिको मगर युवालाई चित्रित गरेको हो, जसले जङ्गबहादुरजस्ता जल्दाबल्दा शासकलाई पनि बुद्धिमानीपूर्वक अन्त्य गरी आफू सकुशल उम्किन सफल भएको बताइएको छ । त्यसरी बाघको शिकार गर्न निस्केका जङ्गबहादुर स्वयम् बाघरूपी मान्छेको शिकार बनेको यो लोकआख्यान हाम्रो गाउँघरमा जीवित छ । यही कारणले जङ्गबहादुरलाई ‘लिँडे बाघले मारेको’ उक्ति चलेको हो र त्यसैवेलादेखि मगरलाई ‘लिँडे’ भनेर गिज्याउन थालिएको बताइन्छ । वंशावली अनुसार स्त्रीलम्पट जङ्गबहादुरको मृत्यु परस्त्रीकै कारण उनकै पतिदेव (मगर युवा) बाट हुन पुगेको जनविश्वास छ । शासकहरूका निम्ति यो निश्चयनै लज्जाको विषय हो । त्यसैले सत्यलाई ढाकछोप गर्न नेपालमा हुँदै नभएको ‘सेतो बाघले मारेको’ भ्रम फिजाई राणाहरूले लाज ढाकेको देखिन्छ ।

पुरुषोत्तमशमशेरले जनाए अनुसार जङ्गका मुख्यानी, वडामहारानी, महारानी, रानी र नानी गरी जम्मा ४२ रानीहरू थिए (२०६५: १८९) । यति हुँदाहुँदै पनि जङ्गबहादुर यौनको मामिलामा तृप्त थिएनन् । पुरुषोत्तमशमशेर (उही, ८७) र प्रमोदशमशेर (२०७०: ५५,५७) दुवैले बेलायतमा बस्दा लौरा वेल नामक नर्तकीसँग र पेरिसमा बस्दा लोला मोन्टेज भन्ने सुन्दरीसँग जङ्गले भोगविलास गरेको खुलाएका छन् । यी भनाइले जङ्गमा महिलाहरूप्रतिको आसक्ति कम थिएन भन्ने देखाउँछ । सत्यतथ्य बाहिर नआउँदासम्म जङ्गबहादुरको मृत्युबारे त्यस्ता हल्ला चल्नुलाई स्वभाविक मान्न सकिन्छ ।

धीरशमशेरको शंकास्पद भूमिका 
धीरशमशेर सेनाका अधिपतिजस्तै थिए र उनी जङ्गपछिका शक्तिशाली मानिन्थे । यिनको अधीनमा लगभग सबै पल्टनहरू रहेकाले धीरशमशेरसँग जङ्गबहादुर पनि तर्सन्थे । आफू नभएको बखत सत्ता हड्पेला भनेर जङ्गले जहाँ गए पनि यिनलाई आफ्नै साथमा लाने गर्थे । प्रमोदशमशेरका अनुसार– “जङ्गको भित्री इच्छा आफूपछि आफ्नै छोरा प्रधानमन्त्री बनून भन्ने थियो, तर छोराहरू त्यति योग्य, दरिला तथा बलियासमेत नहुँदा यिनीहरूले जगतशमशेरजस्ता हठी र सान्नानी (धीरशमशेर) जस्ता कठोर भाइहरूलाई उछिनेर खान सक्दैनन् भन्ने लाग्यो । लालमोहरमा महाराज पद छोरामा जाने स्पष्टै थियो, तर प्रधानमन्त्री पद भने भाइ-भाइको रोलपछि मात्र छोरामा जाने थियो” (उही, ७७–७८) । त्यसैले जङ्गबहादुर बाचुञ्जेल आफू र आफ्ना १७ भाइ छोराहरूको भविष्य धीरले सुरक्षित देखेका थिएनन् । छोराहरूको मोहमा परी जङ्ग आफैंले बसालेको रोलक्रम बदली कुनै पनि बखत भाइहरूलाई पाखा लाउन सक्थे । यही चिन्ता धीरको मनमा गहिरोसँग परेको थियो । 
इतिहासको अध्ययन गर्दा जगतजङ्ग आफ्ना पिता जङ्गबहादुरको मृत्युपछि उनको सम्पूर्ण अधिकार हासिल गर्न उद्दत रहेको पाइन्छ । जनकलाल शर्माले जनाए अनुसार राजपरिवार पनि आफ्नो प्रभुसत्ता जङ्गबहादुरको हातमा गएकोले त्यो फिर्ता लिन भित्रभित्रै योजना बनाउँदै थियो । यस काममा युवराज त्रैलोक्य सक्रिय रूपमा लागेका थिए (उही, ६६) । यो कार्यमा त्रैलोक्यको मात्र नभई जगतजङ्गले आफ्नै भाइहरूको पनि साथ पाएका थिए । एक पटक त जङ्गबहादुरले धर्मकचहरी खडा गरी भाइहरूलाई अयोग्य साबित गर्ने असफल प्रयास गरेका थिए । सम्भवतः यिनै कुराहरूले धीरलाई जङ्गबहादुरको हत्या गर्न प्रेरित गरेको थियो कि भन्न सकिन्छ ।


इतिहासविद् पुरुषोत्तमशमशेरले जनाए अनुसार यो सिकार सवारीमा जङ्गबहादुरले भाइ–छोराहरू कसैलाई पनि नलगी ५ जना महारानीहरूका साथ हजुरियामा कर्णेल अम्बरजङ्ग (जगतशमशेरका छोरा) लाई लगे र साथमा भाइ पर्ने काकाका छोराहरू र अन्य केही सामेल थिए (उही, १८२) । प्रमोदशमशेरले जनाए अनुसार जनवरी महिनामा दिल्लीमा हुने विशेष समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जिम्मा पाएका धीरशमशेरलाई शिकारदलमा सामेल गराइएको थिएन (उही, ९२) । समारोह सकिएपछि धीरशमशेर दिल्लीबाट सोझै काठमाडौं फर्के । त्यसबेला प्रधानमन्त्रीको कार्यभार सम्हालेका रणोद्दीपसिंह राजधानी मै थिए भने जङ्गबहादुर दक्षिण तराईको शिकारमा व्यस्त थिए । 
तराईतिर प्रचलित रहेको लोकआख्यान अनुसार – कुनै बेला आफ्नै स्त्रीलाई लुटी जङ्गबहादुरले भोग गरेको कारण प्रतिशोधले जलिरहेका एक मगर युवा, जो संयोगले शिकार क्याम्पमा आठपहरीया पनि थिए, लाई पुरानो इबी जगाई जङ्गविरुद्ध प्रयोग गरियो । जङ्गले पहिलेका घटनालाई भुलिसकेका थिए । त्यसैले जङ्गबहादुर नजिक पुग्न र हमला गर्न त्यो युवालाई सफलता मिल्यो । भनिन्छ, खुकुरीको चोटले जङ्गबहादुर भूइँमा ढले, लगत्तै त्यो युवालाई पनि ठाउँको ठाउँमै छिनाउन लगाइयो । यो प्रपञ्च  धीरशमशेरकै थियो । कुनै बेला आफूलाई मार्न खोजेको सुराकी पाएर जङ्गबहादुरले धीरलाई काट्न तम्सेका थिए तर धीरले मेरो केही गल्ती छैन भनी गोडामै लम्सार परे । धीरविरुद्ध कुनै प्रमाण नभेटिएकोले जङ्गले माफी दिएका थिए । त्यसैबेलादेखि धीरशमशेर सतर्क रहँदै आएका थिए ।

आफ्नै अधीनका सैनिकहरू परिचालन गर्न र घटनालाई गुपचुप राख्न धीरलाई कुनै कठिनाई थिएन । रणोद्दीपसिंह श्री ३ र प्रधानमन्त्रीमा बहाल भएपश्चात् सिकिस्त जङ्गबहादुरलाई भेट्न पत्थरघट्टा हिँडेका जगतजङ्ग र त्रैलोक्यलाई बाटोमा जङ्गबहादुरको मृत्युबारे यिनले थाहा दिएका थिए । धीरशमशेरको यो भूमिका अनपेक्षित थिएन । यो आख्यानबाट पनि माथिकै भनाइलाई समर्थन मिलेको देखिन्छ ।

‘हावा नचली पात हल्लँदैन’ भन्ने उखानै छ । हत्याविरुद्धको प्रमाण तत्कालै मेटाइयो र घटना थाहा पाउनेहरू मौन रहे । कुटनीतिक नियोगहरूलाई सूचना दिँदा पनि सत्य उजागर हुन दिइएन । तर जङ्गबहादुरको मृत्युसम्बन्धी तथ्य नेपाली जनमानसमा एक किंबदन्ती बनेर रह्यो । यसर्थ ३० वर्षसम्म अधिनायकवाद चलाएका जङ्गबहादुर कालगतिले मरेका थिए भन्नेमा विश्वास गर्न सकिएको छैन ।

मृत्युको तिथिमिति 
कान्तिपुर दैनिक (२०६५ फागुन २६) ले बाराको सिम्रौनगढमा जङ्गबहादुरको मृत्यु भएको उल्लेख गरेको छ । कतिपयले सिम्रौनगढ नजिक ‘बहरी’ भन्ने स्थानलाई पनि औंल्याएका छन् । थापाथलीस्थित कालमोचनघाटका अतिरिक्त सिम्रौनगढको राममन्दीरमा पनि जङ्गबहादुरको श्राद्ध हुने गरेको तथ्यले यसलाई पत्यारिलो बनाउँछ । उक्त स्थानमा जङ्गको अस्वभाविक ढङ्गले मृत्यु भएको हुँदा यसलाई गोप्य राख्न पत्थरघट्टा पुर्याइएको हुनुपर्छ भन्ने धेरैको मत छ । मृत्यु जहाँ भएपनि जङ्गको अन्त्येष्टी सर्लाही र रौतहटको सीमानदी बागमतीको किनार (पत्थरघट्टा) मा भएको थियो, सो स्थान पूर्व-पश्चिम राजमार्गबाट करिव २५ कि.मी. दक्षिण पर्दछ । जङ्गबहादुरको मृत्युको खबर पाई सबैभन्दा पहिले पत्थरघट्टा पुगेका पद्मजङ्गले आफ्नो पुस्तकमा जङ्गको मृत्यु सन् १८७७ फेब्रुअरी २५ शुक्रबारका दिन महाशिवरात्रीको मध्यरातमा भएको (२०७४:२८८) खुलाएका छन् । सामान्यतः मध्यरातबाट अर्को दिन प्रारम्भ हुने भएकोले जङ्गको मृत्यु फेब्रुअरी २६ मा भएको यकिन हुन्छ । सूर्य पञ्चाङ्ग अनुसार उक्त दिन वि.सं. १९३३ फागुन १६ गते आइतवार, गोविन्द (शुक्लपक्ष) द्वादशी तिथि परेको, त्यसको १२ दिनअघि कृष्णपक्ष चतुर्दशी तिथि अर्थात् महाशिवरात्री पर्व परेको छर्लङ्ग हुन्छ । पद्मजङ्गले भनेझैं जङ्गको मृत्युबारे कतिपय तथ्य मेल खाएको छैन तथापि जङ्गको लाशमा दागबत्ति दिई अन्त्येष्टी गर्ने उनै थिए । त्यतिखेर पद्मजङ्ग १९ वर्षका युवा मात्र नभई सुझबुझ भएका एक सैन्य जनरल पनि थिए । उनले त्यहाँ जे बुझे, सम्भवतः त्यही लेखे तर कतिपय सन्दर्भहरू भने अमिल्दो रह्यो ।

जङ्गबहादुरको श्राद्ध 
गुठी संस्थान, केन्द्रीय लगत तथा अभिलेख शाखा, भद्रकालीमा “श्री जङ्गबहादुर राणाको एकतीस श्राद्ध गुठी” को तत्कालीन निस्सासहितको लिखत (पोका नं.४७, लगत नं. ५४) सुरक्षित छ, जस अनुसार क. रणजङ्ग राणाकी रानी जगतकुमारी देवीले स्व.श्री ३ जङ्गबहादुरको श्राद्धका लागि बिर्ता जग्गा गुठी राखी पाऊँ भनी डिठ्ठा सानु थापालाई दिएको दरखास्तबमोजिम चाँगुको ३४–२–११–० क्षेत्रफल भएको जग्गा वि. स. १९८५ साल जेठ महिनामा आधिकारिक रूपले बिर्ता प्रदान गरिएको र सोही जग्गाको आयस्ताबाट जङ्गबहादुरको नियमित श्राद्ध गर्ने गरिएको छ । मृतकका छोराले वा बढीमा नातिको पालासम्म हुने श्राद्धलाई विगतदेखि राज्यले दिएको योे सुविधा अनौठो र आश्चर्यलाग्दो छ ।
जङ्गबहादुरका आफ्नै सन्ततिहरूले २०६४ सालमा “श्री ३ जङ्ग संस्था” खोलेका छन् र संस्थाले वर्षेनी आफ्ना भाइबन्धुहरूलाई भेला गराउँदै आएको छ । संस्थाका अध्यक्ष यमजीतप्रताप जङ्गबहादुर राणा हुन् । ज्येष्ठताका नाताले हालसम्म यिनैले जङ्गबहादुरको छुट्टै श्राद्ध गर्दै आएका छन् । 

आश्चर्यलाग्दो संयोग
नेपालमा १०४ वर्षे राणाशासनको जग बसाल्ने जङ्गबहादुरको आजभन्दा १४४ वर्षअघि नै मृत्यु भएको थियो, उनको श्राद्ध आजसम्म भइरहेकै छ । यस्तो हुनुमा जङ्गबहादुरप्रति उनका सन्ततिको गहिरो श्रद्धा र सम्मान हो । अर्को कारण खर्च व्यवस्थापन गरिदिने निकाय (सरकारी गुठी) भएर हो ।

अर्को पनि स्मरणीय तथ्य
जङ्गबहादुरको अन्तिम समयमा भएको गोरखा बुङ्कोटको विद्रोहबारे माथि चर्चा भएकै छ । घटनामा दोषी ठहर्याइएका ७ जनालाई जङ्गबहादुरकै आदेशमा बुङ्कोटको काहुलेभंगारमा झुन्ड्याएर मारिएको थियो । यसरी झुन्ड्याइएको रूखबाट अन्यका शरीर कुहिएर झरे तर लखन थापाको शरीर सुकेर हराएको स्थानीयहरूको भनाइ छ । उनी सिद्ध पुरुष भएकैले यस्तो हुन गएको बताइन्छ । त्यसैले, लखन मरेका छैनन्, देवतामा परिणत भएका हुन् भन्ने स्थानीयहरूमा जनविश्वास छ । गाउँमा प्रत्येक पौष महिनाको पहिलो पञ्चमीमा उनै लखन थापाको स्मृतिमा भँयरी पूजा गर्ने चलन छ । यो अकालमा मर्नेहरूको स्मृतिमा गरिने एक प्रकारको पूजा हो । गाउँलेहरूले विगत १४४ वर्षदेखि आफैंले यो पूजा गर्दै आएका छन् । यसले विद्रोही लखन थापा मगरप्रति स्थानीयहरूको श्रद्धा, भक्ति र सम्मान कति रहेछ भन्ने देखाउँछ ।

जङ्गबहादुर कुनै बेलाका जल्दाबल्दा शासक थिए भने लखन पूर्व सैनिक मात्र नभई देश र जनताका लागि शहादत भएका विद्रोही नेता थिए । यही कारणले लखनलाई देशको पहिलो सहिद बन्ने सौभाग्य दिलायो । जङ्ग र लखन कुनै कालखण्डमा एकार्काका कट्टर शत्रु थिए । लखनको शहादत र जङ्गको निधन झण्डै २ महिना ९ दिनको फरकमा भएको देखिन्छ । हालसम्म पनि यी दुवैको आ–आफ्नो स्थानमा निरन्तर पूजा÷श्राद्ध हुनुले दुवैको लोकप्रियतालाई प्रमाणित गर्दछ । नेपाली इतिहासमा यो आश्चर्यलाग्दो संयोग देखिन्छ । दुःखको कुरो, जङ्गबहादुरको श्राद्ध समाचार बन्ने गर्छ भने लखनप्रतिको श्रद्धा कहिल्यै समाचार बनेको छैन । शासक र शासितबीचको विभेद कायमै छ ।