April 21, 2021, Wednesday
२०७८ बैशाख ८
1:37:26 pm

छोइछिटोमा पर्ने लिम्बूलाई सात रुपैयाँ दण्ड

२०७७ फाल्गुन २३

4.4K

(इतिहास)
राजकुमार दिक्पाल
नेपाली समाजको मुख्य विकृत प्रथामध्ये एउटा जातिभेद हो । अझ हिन्दु वर्णाश्रमले कोरेको जातीय विभाजनको रेखा र त्यसमा पनि छुवाछुत प्रथा नेपाली समाजको सबैभन्दा आपत्तिजनक प्रथा हो । यस प्रथाले यहाँका लाखौं शिल्पी र श्रमिक वर्ग आज अछुत, दलित र उत्पीडित भएर बाँच्नुपरिरहेछ । उनीहरु आत्मसम्मानपूर्वक बाँच्न पाएका छैनन्, शोषण र गरीबीको निर्मम जाँतोमा पिधिएका छन् । त्यसैले यो समुदायमा यथोचित मानव विकाससमेत हुन सकेको छैन ।

गोरखा राज्यको जग बसेदेखि नै यहाँ पश्चिमतिरबाट बाहुन, क्षेत्री र पुहुनीको सङ्ख्या पनि बढ्दै गयो । गोरखा राज्यका संस्थापक द्रब्य शाह र यिनका छोरा पूर्ण शाहको समयमा पूर्वतिर गण्डकी र दक्षिणमा मस्र्याङ्दी र गण्डकीबीचको मगरातसम्म बाहुन क्षेत्री र पुहुनीहरुको आवादी फैलिएर गोरखाको निक्कै वृद्धि भएको थियो । (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः७)

यसरी द्रव्य शाहका साथमा आएका र पछि थपिएका पुुहुनीमध्ये सार्कीले छाला कमाउने, कामीले खानी खन्ने र भाँडावर्तन बनाउने काम गर्थे । (आचार्य, उहीः १२) सर्वसाधारणदेखि राज्यसञ्चालनसम्मको कामलाई सहज बनाउने शिल्पी तथा श्रमिक वर्गले नेपाली समाजमा आजसम्म अनेक अपमान र उत्पीडन सहदै आउनु परेको छ ।

पोडेलाई महिला सुम्पने कुप्रथा
राजदरबारमा अनेक खेलचुक्ली र षडयन्त्रहरु चल्दा भारदार हत्याको चलन हनुमानढोका राजदरबारमा राम्रैसङ्ग मौलाएको थियो । भीमसेन थापाको उदयपछि त राजदरबारभित्र भारदार हत्याको क्रमले उत्कर्ष रुप लिन पुग्यो ।

आफ्नै सौतेलो भाई चौतारिया शेरबहादुर शाहीबाट वि.सं. १८६३ वैशाख १४ गते राती मुख्तियार राजा रणबहादुर शाहको हत्या भएपछि दोषी पत्ता लगाउने नाममा आफ्ना प्रतिकुल लाग्न सक्ने चौतारिया र भारदारहरुको कत्लेआम गर्ने क्रममा भीमसेन थापाले चौतारिया विदुर शाही, शेरबहादुर शाही, काजीहरु त्रिभुवन खवास, नरसिंह गुरुङ तथा उनीहरुका छोराहरु, दुई वर्षदेखि षडयन्त्रमूलक ढङ्गले पाटन दरबारमा थुनामा राखिएका पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाई रणबहादुर सेन लगायतलाई भण्डारखालमा ल्याउन लगाई कटाए । (ज्ञानमणि नेपाल, ‘नेपालको माहभारत’–२०५२ः६२–६३)

यसरी मारिएकाहरुका परिवार (श्रीमति तथा छोरी चेलीहरु), कमाराकमारीहरुलाई सार्की, नगर्ची, पोडे र च्यामेहरुलाई सुम्पिइयो । उनीहरुको टाउको बिनाको लाशलाई चाण्डाल जाति (दलित उत्पीडित)हरुलाई परिचालन गरी विष्णुमति पारीको मसानमा लगेर फ्याक्दा श्याल तथा कुकुरहरु तृप्त भएका थिए ।(नेपाल, उहीः ८१)

राजदरबारभित्र मारिएका भारदारहरुका छोराहरुलाई पनि मारिन्थ्यो भने श्रीमति तथा छोरी चेलीहरु प्रायः पोडेहरुलाई सुम्पने चलन थियो । मारिएका भारदारहरुलाई सकेसम्मको बेइज्जत गर्नु नै यसको मुख्य कारण हो ।

जातिभेदको वैधानिक रुप
आधुनिक नेपालमा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपालको कानुनलाई संहितावद्ध बनाए । मूलुकी ऐन १९१० ले नेपालमा प्रचलित ठूलो र सानो, छुत र अछुत, मासिने र नमासिने जात जस्तो कुप्रथालाई स्पष्ट, लिखित र वैधानिक रुपमा स्थापित गरिदियो ।

यो ऐनले ‘मुसलमान, धोवी, मधेशका तेली, कसाहि, कुशले, कुलु, म्लेच्छ र चुडारालाई’ पानी नचल्ने र छोइछिटो हाल्नु नपर्ने भन्ने जातिमा किटान गरिदियो । यस्तै सार्की, कामी, सुनार, चुनारा, हुक्र्या, दमाई, वादी भाड, पोडे र च्यामखललाई छोइछिटो हाल्नुपर्ने जातिका रुपमा किटान गरिदियो । (डा. जगदिशचन्द्र रेग्मी, ‘नेपालको वैधानिक परम्परा’–२०६० ११४)

यो ब्यवस्थाबाट जातिभेद र छुवाछुतले वैधानिक रुपमा लिएको देखिन्छ ।
मूलुकी ऐनअघि पनि जातिभेद र छुवाछुतलाई लिखतको रुप दिइएको पाइन्छ । मूलुकी ऐन बन्नुभन्दा ९ वर्षअघि पानी नचल्ने जातिको सूची तयार पारिएको थियो । वि.सं. १९०१ वैशाख सुदी १४ रोज ४ मा ‘श्री ५ महाराजाधिराजबाट तजवीज हुदा ठह¥याएका आजकाल पानी नचलन्या जातिको तपसील’ भनी नेपालका २४ जातिलाई लिखित रुपमा पानी अचल जातिको रुपमा घोषणा गरिएको छ । तीमध्ये सबैभन्दा उच्च ‘कसाही’ र सबैभन्दा तल्लो जातिको रुपमा ‘च्यामाखल’ लाई राखिएको छ । (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ७९–२०४७ फागुनः४३–४४

यस्तो जातिगत विभाजनमा ‘मुसहर’को स्थान छैटौं, ‘सार्की’को स्थान १० औं, ‘कामी’को स्थान १४ औं, ‘दमाई’को स्थान १५ औं र ‘मुसलमान र चुडारा’को स्थान २१ औं रहेको छ । यसरी गरिएको ब्यवस्थामा पानी नचल्ने जातिमध्ये कसाहीको दूध मात्र चल्ने पानी नचल्ने र कलवारको सिधा (भिक्षा) र घ्यू तेल चल्ने तर पानी नचल्ने भनेर किटान गरिएको छ ।

यी दलित तथा उत्पीडितहरुलाई राज्यबाट कतिसम्म खतरा थियो भने कतिपय अपराधमा ज्यानको सजाय पनि दिइन्थ्यो । वि.सं. १८९३ असार सुदी ७ रोज ४ मा तत्कालिन राजा राजेन्द्रविक्रम शाहले भाउजुसङ्ग करणी वा विवाह गर्नेहरुलाई कस्तो सजाय गर्ने भन्नेबारे एक रुक्का जारी गरेका थिए । यो रुक्कामा लिम्बू किरात, लेप्चा र जुम्लीहरुलाई उनीहरु आवाद रहेको ठाउँलाई ‘जङ्गली मूलुक’ भन्दै भाउजुलाई करणी वा विवाह गर्न छुट दिइएको उल्लेख छ । यस रुक्कामा ‘दमाई, सुनार, कामी, सार्की, गाथीइन् (गाइने ?), हुक्र्या प्रभृति पानी नचलन्या जातले जानी जानी भाउजु वीराउ ग¥या भन्या मासी दिनु’ भन्ने उल्लेख छ । (महेशचन्द्र रेग्मी, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ३, अङ्क १–सन् १९७१ डिसेम्बरः१–२)

छोइछिटोबारे लिम्बूहरु अनभिज्ञ
लिम्बूहरु मूलतः गैह«हिन्दू धर्मावलम्बी हुन् । प्रकृति पूजा र मुन्धुम दर्शनमा लिम्बूहरुको धार्मिक तथा सांस्कृतिक मार्गदर्शन सञ्चालित छ । लिम्बूहरुको मुन्धुममा बेद, पुराण र मनुस्मृतिमा जस्तो वर्णाश्रमको वर्णन छैन ।

तर वि.सं. १८३१ मा युद्ध तथा सम्झौता दुवै माध्यमबाट लिम्बूहरुले सेनकालिन अधिकारको निरन्तरतासङ्गै गोरखाली अधिपत्य स्वीकार गरेपछि लिम्बूवानमा छोइछिटो प्रथा विस्तारै भित्रिदै गयो । यसभन्दाअघि छोइछिटोबारे लिम्बूहरु अनभिज्ञ थिए ।

गोरखा राज्यसङ्ग मिलेपछि गोरखालीहरुले लिम्बूहरुलाई पश्चिम क्षेत्र (लमजुङ र तनहुँ)को राज्यविस्तार अभियानमा पनि सहभागी गराएका थिए । यसका लागि लिम्बूहरुको एक पल्टन निर्माण गरिएको थियो । युद्धका क्रममा धेरै मानिस युद्धबन्दीका रुपमा पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा कामी, सार्की, दमाई र बाहुनहरु थिए । लिम्बूहरुले त्यहाँका सार्की महिलाहरुलाई युद्धबन्दीहरुका लागि खाना तयार गर्न आदेश दिए । तर ती महिलाहरुले खाना पकाउन असमर्थता ब्यक्त गरे । लिम्बूहरुले भने आफूहरुको आदेश अटेर गरेको भन्ठानेर ती सार्की महिलाहरुलाई पिटे । गोरखालीहरुले यो थाहा पाएपछि ‘कामी र सार्कीजस्तो तल्लो जातले छोयो भने पतिया गर्न तिमीहरुले के गर्नुपर्छ ?’ भनी सोधे । उनीहरुले ‘नुहाएर जाँड खाए आफै शुद्ध हुन्छ । दुबो ढुङ्गा छुवाई शुद्ध गरिन्छ । सबैले उसले छोएको जाँडरक्सी र मासु खान्छन्’ भन्ने जवाफ दिए । लिम्बूहरुको यस्तो विशाल हृदय, सोझोपन र इमान्दारिता देखेर खुसी भई गोरखालीहरुले पश्चिम नेपालको पात्लेपानी र पूर्वमा विजयपुरनजिक पानबारी र गुवाबारी मौजाका दुई टुक्रा जग्गा जागिरका रुपमा प्रदान गरे । (इमानसिंह चेम्जोङ, ‘किरात इतिहास र संस्कृति’–२०६३ः१७१–१७२)

छोइछिटोमा लिम्बूलाई कडा दण्ड
विगतमा राज्यको नीतिलाई मान्ने र नमान्ने भन्ने दुई समूहमा लिम्बूहरु विभाजित थिए । गोरखाली शासन र धर्म–संस्कृति स्वीकार्ने जतिलाई आफू समान रीतिस्थिति मान्ने अर्थात् ‘समरीति’ (स्मृति) र लिम्बू धर्म–संस्कृति नछोडी ‘आफ्नै नीति’मा अडीग रही गोरखाको शासन नमान्ने, विद्रोही लिम्बूहरुलाई ‘निति’ समूहको रुपमा चिन्ने चिनाउने चलन चल्यो । (डा. रमेश ढुङ्गेल, ‘हिमाल’ पूर्णाङ्क १६६–२०६२ फागुन १६–२९ः६०–६२)

उनै आफ्नै धर्म–संस्कृतिमा रमाउने ‘नीति’ समूहका लिम्बूहरुलाई कामी, दमाई, सार्की तथा मुसहर जातिसङ्ग भूलचुकमा करणी विराउँदा त्यस्ता ब्यक्ति मात्र होइन, उसको घर, उसका छिमेकी र उसले छोएको पधेँराको पानी चलाउनेसम्मलाई निक्कै ठूलो आर्थिक जरिवाना गरिने एक रुक्का फेला परेको छ । यो रुक्का इतिहासकार तथा पूर्व प्रशासक भगिराज इङ्नामबाट यो लेखकले प्राप्त गरेको हो ।

वि.सं. १८९७ असोज सुदी ७ रोज ६ मा जारी भएको यो रुक्कामा कामी, दमाई, सार्की र मुसहर जातिसङ्ग भूलचुकमा करणी हुँदा प्रथम घरले ७ रुपैयाँ दण्ड तिर्नुपर्ने ब्यवस्था भएको उल्लेख छ । यसैगरी प्रथम घरले छोएको पधेँराको पानी खानेलाई ३ रुपैयाँ ८ आना, गाउँफेरा (छरछिमेक)लाई आठ आना र अरु संसर्गी घरले एक आना दण्ड तिरेर त्यसपछि दुबोँ ढुङ्गा छोएर मात्र शुद्ध हुन सकिने ब्यवस्था त्यसबेला रहेको यो रुक्काले प्रमाणित गर्छ ।

राजा राजेन्द्रविक्रम शाहको समयको कर उठाउने क्रमलाई ब्यापक बनाइएको थियो । पेशागत रुपमा लिम्बूवानमा पुगेका विभिन्न जातिमाथि कर उठाउनका लागि लिम्बू किपटिया सुब्बाहरुको नाममा रुक्का तथा लालमोहर जारी गरियो । फलामको काम गर्ने कामी, छालाको काम गर्ने सार्की, सिलाईको काम गर्ने दमाई तथा कपडामा छाप हान्ने नेवारहरुबाट पनि कर असुलीको ब्यवस्था गरिएको थियो । यो लेखकसङ्ग सुरक्षित एक लालमोहरलाई उदाहरणका रुपमा लिन सकिन्छ । १८८४ चैत वदीमा जारी गरिएको यो लालमोहरमा कामीको ताल, सार्कीको पलेटी, दमाईको सुजेरो, छिपोछापो भन्ने उल्लेख गरिएको छ ।

आफ्नै मौलिक मुन्धुमी धर्मसंस्कार, रीतिस्थिति र संस्कृतिमा रमाइरहेका लिम्बूहरुमा पनि यसरी क्रमशः हिन्दु राजाबाट बर्णाश्रममा आधारित हिन्दु ब्यवस्थाअनुसार जातमा सानो–ठूलो, पानीमा चल र अचलजस्ता छोइछिटो प्रथा प्रवेश भएको देखिन्छ ।