काठमाडौं- औषधि व्यवस्था विभागमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गरिरहेका तीन देशका कम्पनीले खोप दर्ताका लागि तयारी अघि बढाइएको छ। भारत, चीन र रुसका कम्पनीले विकास गरेका कोभिडविरुद्धका खोप नेपालमा दर्ता गर्न निवेदन आइसकेको विभागले जानकारी दिएको छ। ती निवेदमाथि अध्ययन भइरहेको विभागको भनाइ छ।
विभागका अनुसार एक कम्पनीको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने दुई देशका कम्पनीसँग थप कागजात माग गरिएको छ।
औषधि व्यवस्था विभागमा चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दर्ताका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको हो।
त्यसैगरी, रुसले विकास गरेको ‘स्पुतनिक-भी’ खोप दर्ताका लागि विभागमा निवेदन दिएको छ। भारतीय कम्पनी भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनका लागि विभागमा निवेदन दर्ता गराएको छ।