November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

भक्तपुरमा खोप चार हजारलाई दिइने

3.6K

काठमाडौँ – पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो । देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयम्सेविका, सरसफाइ मजदूर र कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप लगाइने डा गौतमले जानकारी दिनुभयो । भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगर अस्पताल थिमिबाट आज बिहान १०ः३० बजेदेखि कोरोनाविरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको हो ।

भक्तपुर अस्पतालमा जिल्लाका अस्पतालका स्वास्थ्यकर्मीसँगै चाँगुनारायण र भक्तपुर नगरपालिकाका अग्रभागमा रहेर काम गर्नेहरुलाई यो खोप लगाइने भएको हो । नेपाल कोरिया अस्पतालबाट मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका तोकिएका व्यक्तिमा खोप लगाउन शुरु भएको हो । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुरमा चार हजार भायल खोप पठाएको छ । शून्य दशमलव ५ मिलिलिटर खोपको मात्रा एक जनालाई दिइने भएकाले एक भायल बराबर कम्तीमा १० जनालाई खोप लगाइने छ । यसअघि खोपसम्बन्धी स्वास्थ्यकर्मीलाई भक्तपुरको सिद्धिस्मृति प्रतिष्ठानमा तालीम दिइएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार देशभरका ६२ अस्पताल र १२० खोप केन्द्रबाट खोप अभियान शुरु भएको छ ।

Advertisement

पहिलो चरणमा कोरोनाविरुद्ध अग्रभागमा काम गरिरहेका चार लाख ३० हजार जनालाई खोप लगाइने सरकारले जनाएको छ । अठार वर्ष उमेर पुगेका व्यक्तिले खोप लगाउन सक्ने भक्तपुर अस्पतालका मेसु डा गौतमले जानकारी दिनुभयो ।