November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिक्रेटार सांस्कृतिक साँझ २०८२ सफलतापूर्वक सम्पन्न

२०८२ कार्तिक २८

375

भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमबाट झण्डै चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले स्थानीयवासीहरूको सक्रिय पहलमा सम्पन्न कार्यक्रमले समुदायमा नयाँ उत्साह थपेको छ।

विद्यालय व्यवस्थापन समिति र वडा नं. ७ का अध्यक्ष कुमार थापाले विद्यालयको दीगो आम्दानी स्रोत विकास गर्ने लक्ष्यसहित यस्तो सांस्कृतिक अभियान अघि बढाइएको बताए। उनले भने,
“स्थानीयको साथ र कलाकारहरूको निःशुल्क योगदानले अभियान सफल भएको छ। आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर गर्दै जाने हाम्रो योजना छ।”

कार्यक्रममा लोकगायक शुकदेव अधिकारी, स्थानीय कलाकारहरू बीरबहादुर लिम्बु, तेजेन्द्र गन्धर्व, मनीपाल राई र टीका मगर लगायतका कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। उक्त सांस्कृतिक साँझ कार्यक्रममा लेखक, निर्देशक तथा कलाकार जीवन थापा ‘क्षितिज’को विशेष उपस्थिति रहेको थियो।
विद्यालयले विभिन्न क्षेत्रका कलाकारहरूलाई सम्मानपत्र प्रदान गरेको थियो।

Advertisement

विद्यालयले यसअघि एसईईमा सबै विद्यार्थी उतीर्ण गराउँदै गाउँपालिकाभित्र उत्कृष्ट नतिजा हासिल गरेको थियो। सो उपलब्धि र सहयोग अभियानलाई उदाहरणीय ठहर गर्दै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि थप सहयोग उपलब्ध गराइने बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले स्थानीय शिक्षा र संस्कृति दुबैलाई बलियो बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।