काठमाडौं । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ । उनको शनिबार साँझ ७ बजे हृदयाघातका कारण निधन भएको हो ।
परिवार स्रोतकाअनुसार छाती दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा निधन हो ।
कुपण्डोलस्थित घरमा साढे ५ बजेतिर कुराकानी भइरहँदा छाती दुख्यो भनेपछि नर्भिक अस्पताल पु¥याइएकोमा साँझ ७ बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको बताइएको छ ।
शर्माको शव आज अस्पतालमै राखिने र भोलि (आइतबार) भारतबाट जेठी छोरी आएपछि अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ ।
शर्मा २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा रहेकी थिइन् ।
लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी शर्मा पछिल्लो समय सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् ।
शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन् ।
उनले काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।