काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अशिष्ट कमेन्ट र गालीगलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी भइरहेको जनाइएको छ ।
आफूलाई कवि बताउने राईले गायिका चौहानको स्टेटसमा अभद्र व्यवहार गर्न पाउनुपर्छ भन्ने आसयसहित ‘कसैले अभद्र व्यवहार नगरम् है नत्र १० लाख जरिवाना माग्ला यी डङ्कीनिहरुले…’ कमेन्ट गरेको थिए । उक्त कमेन्टलाई चौहानले सार्वजनिक गरेपछि झनै निरन्तर प्रहारमा उत्रिएका थिए ।
राईले सामाजिक संजालमा समिक्षा अधिकारी र एलिना चौहानलाई चरित्रहिन भन्दै उनीहरुका कारण डिभोर्स र बलात्कारको बढ्ने घिनलाग्दो अभिव्यक्ति दिएका थिए । उनले लेखेका छन्– ‘प्राइभेट कुराहरुलाई चाहिनेभन्दा बेसी सार्वजनिक गरेपछि सब्ले तेस्लाई पब्लिक धुलाई हान्छ नै । त्यो पब्लिक ट्वाइलेट बन्छ नै । त्यो सार्वजनिक ट्वाइलेट भयो भनेर अब उफ्रिनु तिम्रो मुर्खता हो । समिक्षा र एलिना जस्ता चरित्रहरुको कारण अबका दिनहरुमा डिभोर्स र बलात्कार जस्ता सामाजिक विसंगतिहरु झन् बढ्दै जानेछ ।’
गायिका चौहानले यसअघि साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेविरूद्ध उजुरी दिएकी थिइन् । त्यसमध्ये निरन्तर प्रहारमा उत्रिका राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईको मोबाइल बरामद गरेको छ । प्रहरी स्रोतकाअनुसार उनले १०–१२ वटा आइडी बनाएका छन् ।
राई कविता पनि लेख्ने गर्छन्। नेपाल प्रज्ञा प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पुगेका थिए ।