November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बैंकका कर्मचारी र प्रहरीलाई पेस्तोल देखाई लुटपाट गर्ने फरार प्रतिवादी

715

सिरहा । बैंकका कर्मचारी र प्रहरीसमेतलाई पेस्तोल देखाएर रकम लुटपाट गरेको घटनाका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको रकम लुटपाट घटनाका प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजन भन्ने सुजेन्द्र लोहनी रहेका छन् ।

लोहनीलाई सीमावर्ती क्षेत्र सिरहा नगरपालिका–१७ खैरटोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

२०७९ फागुन १० मा मिर्चैयास्थित बैंकको शाखाबाट ९ लाख रुपैयाँ बोकेर कल्याणपुर शाखा जाने क्रममा बैंकका कर्मचारी र सुरक्षार्थ खटिएका प्रहरीसमेत लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाएर लुटपाट गरेको थियो । नम्बर नखुलेको दुई मोटरसाइकलमा आएका उनीहरूले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवास र बैंकका ती कर्मचारीलाई कुटपिटसमेत गरेका थिए ।

घटनापछि लुकीछिपी भारत बस्दै आएका लोहनीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सिरहा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।