November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कुमारी लामाको निबन्धसंग्रह ‘दर्ज्यु संलाप’ सार्वजनिक

945

काठमाडौं । साहित्यकार कुमारी लामाको निबन्धसंग्रह ‘दर्ज्यु संलाप’ सार्वजनिक भएको छ । नेपाली साहित्यको निबन्ध र समालोचना विधामा साठीको दशकबाट निरन्तर क्रियाशील लामाको ‘दर्ज्यु संलाप’ दोस्रो निबन्धसंग्रह हो ।

शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि प्राडा अरुण गुप्तो, नेपाल टेलिभिजनका कार्यकारी निर्देशक फुलमान बल, डा बिन्दु शर्मा र सर्जक लामाले संयुक्त रुपमा ‘दर्ज्यु संलाप’ लोकार्पण गरेका थिए ।

‘दर्ज्यु संलाप’ बारे बोल्दै प्राडा गुप्तोले कुमारी लामाको लेखनमा मल्टिटास्किङ पाइने बताए । प्राडा गुप्तो भन्छन्, ‘पुरुष लेखनमा अलिकति एकोहोरोपना हुनसक्छ । मैले राम्रो नराम्रो कुरा गरेको छैन । पुरुष लेखनमा एक किसिमको एकोहोरो पना हुन्छ । एताउता बग्न खोज्दैन र त्यसलाई एककिसिमको कमजोरीको रुपमा तार्किक लेख भन्न सकिन्छ । तर कुमारी लामाको धेरै लेखहरुमा कथा पनि छ र व्याख्या पनि छ ।’

Advertisement

यस्तै पुस्तकमाथि समिक्षा गर्दै नेपाल टेलिभिजनका कार्यकारी निर्देशक बलले कुमारी लामाको निबन्ध लेखन सतही नभएको अभिव्यक्ति दिए । कतिमय निबन्धकारहरुको निबन्ध सही हुने उदाहरण दिँदै उनले भने, ‘कतै टाढा दुरको यात्रामा थियौं, घामा उदायो, हिमाल मुस्कुरायो, मेरो मन तरङ्गीत भयो भनेर सतहमा लेख्ने निबन्धकारहरू पनि छन् । तर त्यो घाम लाग्दै गर्दा कति धेरै आशा सपनाहरू अस्ताइरहेको कुरो हामी लेख्दैनौं । हिमाल मुस्कुराउँदै गर्दा त्यो हिमालकै मुन्तिर बसेको त्यो एउटा समुदायको पीडा जिन्दगीभर कहिल्यै पनि मुस्कुराउने अवस्था नभएको, राज्य प्रणाली नपुगेको, पुग्दा पनि खास दृष्टिकोणसहित नपुगेको भन्ने कुरा कुमारी लामाको निबन्धमा देखिन्छ ।’

अर्का वक्ता कवि/समालोचक डा बिन्दु शर्माले यस संग्रहका निबन्धहरुमा अनुसन्धानको राम्रो अभ्यास भएको बताइन् । ‘विषय र परिस्थितिहरुलाई अनुसन्धानात्मक रुपले प्रस्तुत गर्ने तरिका हो यो । र, यसलाई बैचारिक निबन्धकारले बढी प्रयोग गर्छन् । अहिले बजारमा आएका निबन्धहरूया पत्रिकाहरुमा आएका आलेखहरु, अझ विशेष गरी पत्रकारितामा संलग्न लेखकहरुले लेख्नुभएका निबन्धहरुमा अपनाइएको तरिका हो यो अनुसन्धनात्मक अभ्यास । यसमा ऐतिहासिक, सांस्कृतिक र आर्थिक तथ्यहरूपनि प्रस्तुत गरिन्छ र तिनीहरुलाई दार्शनिक तर्कहरुद्धारा पुष्टि गर्दै लगिन्छ, जसले पाठकलाई आफ्नो विचारधारमा सहमत गराउने प्रयास गर्छ ।’

महिला, जनजाति तथा सीमान्तकृत समुदायका विषयमा वकालत गर्ने लामा त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी विषय प्राध्यापनरत छिन् । उनका थुप्रै प्राज्ञिक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । उनको यसअघि उज्यालो अन्धकार (२०७१) निबन्धसङ्ग्रह, समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना (२०७९) प्रकाशित छन् ।

समालोचनात्मक कृतिकी लेखक तथा साहित्यका विविध विषयमा बहस चलाउने आह्वान समूहकी संस्थापक महिला मुद्दा केन्द्रित पत्रिका अस्मिता हाम्रोकी सम्पादक समेत हुन् ।

कवि लक्ष्मी रुम्बाले संचालन गरेको पुस्तक सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रका विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।