काठमाडौँ – नेपालमा कोभिड–१९ संक्रमण देखिएको एक वर्षपछि नेपाली नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाउने भएका छन् ।
नेपालमा कोभिड–१९ को सङ्क्रमण पहिलो पटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीलाई गत वर्ष माघ ९ गते देखिएको थियो । त्यसपछि चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा सङ्क्रमण देखिएको थियो ।
नेपालमा अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९७५ रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कूल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।
अहिलेसम्म नेपालमा २० लाख २६ हजार ७२६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । हाल क्वारेन्टाइनमा १७२ जना रहेका छन् । त्यस्तै भारत सरकारले अनुदानस्वरुप दिएको कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप नेपाल आइपुगेको छ । बिहीबार बिहान ११ः ४८ बजे एयर इण्डियाको जहाजमार्फत खोप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो ।
विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई उक्त खोप हस्तान्तरण गरेकाे छ । सो खोप हस्तान्तरणपछि सिधै टेकूस्थित राष्ट्रिय खोप भण्डार लगिने मन्त्रलायले जनाएको छ । सो ‘कोभिड – १९’ विरुद्धको खोप उच्च अग्रस्थानमा रहेर काम गर्ने व्यक्तिहरु र जोखिममा रहेकालाई पहिले लगाइने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनले सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका व्यक्तिहरु, स्वास्थ्यकमीसँगै स्वयंसेविकालाई पहिलो चरणमै खोप लगाइने बताए ।
देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ । मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य व्यक्तिलाई दिइनेछ । बाँकी खोप खरिद प्रक्रिया पनि छिट्टै अगाडि बढाउने उनले बताए ।
कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारको तयारी छ । उनले भने, ‘बाँकी रहेमा कोभिड–१९ सँग संघर्ष गरेका अन्य योद्धाहरुलाई दिइनेछ । क्रमश सबैमा पहुँच पुर्याउनेछौँ ।’
भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको सरकारले हप्ता/१० दिन भित्रमा वितरण गरिसक्ने मन्त्री त्रिपाठीले बताए । खोप लगाउने दिन भने तय हुन भईनसकेको मन्त्री त्रिपाठीले बताए ।
सरकारले स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै खोप लगाउने तयारी गरेको छ । कुन प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार नभएको बुझिएको छ ।
यस्ता समस्या भएका व्यक्तिले लगाउँनु हुँदैन कोरोना खोपः
बाहिरी देशहरुमा कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिहरुमा नकारात्मक साइड इफेक्टहरु देखिएका घटना बाहिरीएका छन् ।
खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले भारतमा खोप लगाएका केही मानिसमा नकारात्मक असर देखिएका कारण केही स्वास्थ्य समस्या भएका व्यक्तिहरुले खोप नलगाउन आग्रह गरेको छ ।
१ एलर्जीको समस्या भएका
२ रोग प्रतिरोधात्मक क्षमता कम भएका
३ गर्भवती अथवा गर्भधारणको योजना बनाइरहेका महिला
४ ज्वरो आएका
५ रगत पातलो बनाउने औषधि सेवन गरिरहेका
साथै अन्य खोप लगाइरहेका व्यक्तिलाई पनि यो खोप नलगाउन कम्पनीले अनुरोध गरेको छ । खोप लगाउनुअघि आफ्नो स्वास्थ्यस्थितिबारे चिकित्सकसँग सल्लाह लिन र खोपको पहिलो डोज लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या देखिएमा दोस्रो डोज नलिन समेत कम्पनीले सूचित गरेको छ ।