काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्याउन केन्द्रित हुनुपर्ने बताए । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताएका हुन् ।
आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगत्ले पनि प्रयत्न गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले भने, ‘सामाजिक आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो ।’ सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दीगो शान्ति कायम हुन नसक्ने बताए ।
मन्त्री श्रेष्ठले पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको बताउदै भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको उल्लेख गर्दै उनले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताए ।