काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानबिन गर्न लामिछानेले राजिनामा दिए राम्रो हुने बताएको हो ।
सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् । उनले छानबिनको निष्पक्षता र विश्वसनीयतालाई सुनिश्चित गर्न गृहमन्त्रीले स्वेच्छिक रुपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए ।
सांसद बडुले बाँसबारी छाला, जुत्ता कारखानाको जग्गा प्रकरणमा काँग्रेस सांसद विनोद चौधरीलाई छानबिन गर्ने भनी सभामुखलाई प्रहरीले पत्र लेखेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘सहकारी प्रकरणमा आरोपीहरू कति समातिए ? छानबिन प्रक्रिया कहाँ पुग्यो । स्पष्ट पारिदिनुस् । ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको को कि होइन ? १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो । यदि यो उहाँ नै हो भने छानबिनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त यदि त्यसो हो भने गृहमन्त्रीजी स्वयम् हो भन्ने उहाँलाई लागेको छ भने मलाइ लाग्छ उहाँले यो छानबिन निष्पक्ष हुन र विश्वसनीय बनाउनको निम्ति, जनतालाई पनि विश्वसनीय ढंगले छानबिन गरे है भन्ने पार्नको निम्ति उहाँले छानबिन नसकिँदासम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो । त्यसकारण यो अवस्था हुन्छ कि हुँदैन ? त्यो भइदियो भने छानबिन निष्पक्ष र विश्वसनीय हुन्छ । अहिलेको आवश्यकता नै त्यति हो’, सांसद बडुले भने ।’
सांसद बडूले सांसद विनोद चौधरीलाई अनुसन्धान गरेर ह्यारेसमेन्ट गर्न खोजिएको भनेर पनि प्रश्न गरे ।