काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत पाएका छन् । बुधबार उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे ।
प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।
जसमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरी १५७ सांसदले उनलाई मत दिए भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायतका ११० सांसदले विपक्षमा मतदान गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विस्वासको मत पाए । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त उनले पहिलो पटक २६ पुस २०७९ मा विश्वासको मत लिएका थिए। त्यसबेला सत्ता गठबन्धनमा नरहेका कांग्रेस, एकीकृत समाजवादी र लोसपाले समेत मत दिएकाले २७५ मध्ये २६८ सांसद प्रधानमन्त्री प्रचण्डको पक्षमा उभिएका थिए । १० पुसको गठबन्धन तोडेर प्रचण्डले कांग्रेसतिरै जाने निर्णय गरेपछि उनले दुई महिनाभित्रै दोस्रोपटक विश्वासको मत लिनुपरेको थियो । दोस्रोपटक ६ चैत २०७९ मा उनले विश्वासको मत लिँदा एमाले र राप्रपाले विपक्षमा मतदान गरेकाले प्रचण्डले १७२ मत मात्रै पाए भने विपक्षमा ८९ मत परेको थियो ।
प्रचण्डले १० पुसमा एमालेसँग गठबन्धन बनाउँदा प्रतिनिधिसभाको ५ वर्षको कार्यकालमध्ये आधा अर्थात साढे दुई वर्ष प्रधानमन्त्री हुने सम्झौता गरेकामा दुई वर्ष नपुग्दै गत २१ फागुनमा फेरि एमाले, रास्वपा सहितको गठबन्धन बनाउने निर्णयमा पुगेका हुन् । नयाँ समीकरण बनाएसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि उनी तेस्रोपटक विश्वासको मत लिने अवस्थामा पुगेका हुन् ।