काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ गठबन्धन दलका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गर्दा शर्माले १७ मत प्राप्त गरे । दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत प्राप्त गरे । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् ।
राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ ।
बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ ।
दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए ।
अध्यक्षमा निर्वाचित भएपछि सबैलाई धन्यवाद दिँदै दाहालले जुन उद्देश्य र चाहनाकासाथ आफूलाई जिताइएको छ, त्यसको प्रतिवद्धता पुरा गर्ने बताए ।