२१ फागुन, काठमाडौं । माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ । दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।
यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका हुन् ।
यस्तै, रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् ।
प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् पनुर्गठनको पत्र पठाउने छन् । त्यसपछि आजै शपथ हुनसक्ने जनाइएको छ ।