सुनसरी । बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोशी बहुमुखी क्याम्पसले एक कार्यक्रमको आयोजना गर्दै २१० औं भानु जयन्ति मनाएको छ ।
सो अवसरमा बराहक्षेत्र नगरपालिकाको नामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुवासिलो बनाउन सफल श्रष्टाहरूलाई सम्मानसमेत गरेको छ । गत असारमा सम्पन्न ६६ औं राष्ट्रिय कविता महोत्सव –२०८० मा उत्कृष्ट १० मा पर्दै विजेता बनेका कवि प्रकाश दिप्साली राई, देशकै प्रतिष्ठित र पहिलो रियालिटी सो पोएट आइडलका उत्कृष्ट १२ कि कवि छबिना लुङ्गेली मगर र स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ द्वारा आयोजित “स्कुलमा कविता” कार्यक्रमका विजेता आर्यन निरौलालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । सो अवसरमा उनीहरूले आफ्ना कविताहरू वाचन गरेका थिए । कवि आर्यन निरौलाले ‘नारी शक्तिको महिमा’, कवि छबिना लुङ्गेली मगरले ‘चुनौती छ उसलाई’ र ’कुदेको चन्द्रमा’, यस्तै कवि प्रकाश दिप्साली राईले ‘क्यामेरा’ शीर्षकको कविता वाचन गरेका थिए । उनीहरूले आफ्नो साहित्यिक संघर्ष र साहित्यिक यात्राको अनुभुतिहरू समेत सुनाएका थिए । यस्तै अर्का कवि दीपा मग्रातीले ’अर्को जन्म’ शीर्षकको कविता वाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्राध्यापक संघका अध्यक्ष तथा प्राध्यापक केशव पुरीले बराहक्षेत्रको नामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किलो बनाउने मुर्धन्य स्रष्टाहरूलाई भानु जयन्तीको अवसरमा आफ्नै क्याम्पसमा सम्मान गर्न पाउनु गर्वको कुरा रहेको बताए । साथै यी मुर्धन्य स्रष्टाहरूलाई नगरपालिका तथा वडाहरूले सम्मान तथा पुरस्कृत गरिनुपर्ने बताए । स्वागत मन्तव्यको क्रममा सप्तकोशी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खगेन्द्र निरौलाले भानुभक्त आचार्यको योगदानलाई नयाँ पुस्ताले भुल्दै गएकोमा आफुलाई दुःख लागेको बताए । यसैको निम्ति पनि आज भानु जयन्ती मनाउदै बराहक्षेत्रका होनाहार स्रस्टाहरूलाई सम्मान गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् पुर्व शिक्षक भुवनाथ दाहालले भानुभक्त आचार्यको बारेमा महिमा प्रस्तुत गर्दै थुप्रो वर्षपछि भानु जयन्ती मनाउन पाएको कुरा बताए । आगामी दिनमा यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

कवि तथा प्राध्यापक राजन इशाराले सहजीकरण गरेको सो कार्यक्रममा सभाध्यक्ष सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष हरि पौडेल रहेका थिए ।