धनगढी । सुदूरपश्चिमका विविध भाषाहरूका प्रतिनिधि कविताहरूको विशेष प्रस्तुति, समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कार्यपत्र प्रस्तुति, समग्र कविता विमर्श, नवसर्जकका सृजना प्रस्तुति लगायत विविध कार्यक्रम गरि कविता महोत्सव सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँ र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता महोत्सव सम्पन्न भएको हो । महोत्सवमा पुस्तान्तर कविता सेसन अन्तर्गत नेपाली, डोटेली र थारु भाषाका तीन पुस्ताका बाह्र कविहरूका कविता प्रस्तुत गरिएको थियोे ।
महोत्सवमा समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार विषयमा कवि खेम बतासले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि लेखक जगदीश ओझाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कविताको समग्र अवस्था र कार्यदिशाबारे समालोचक विष्णु ज्ञवालीले विमर्श गरेका थिए । सुदूरपश्चिमका प्रतिनिधि कविताबारे सहप्राध्यापक हरिकृष्ण कडायतले समिक्षा गरेका थिए ।
महोत्सवका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँद रहेको थिए भने पूर्व मुख्यमन्त्री राजेन्द्र रावल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय बाबा बस्नेत र डा. कौशिला रिसाल र प्रदेश सभासदस्य प्रकाश बम विशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए ।
कार्यक्रम सृजनशील मञ्च, सुदूरपश्चिमका सचिव एवम् लेखक डिल्लीराज ओझाले सहजीकरण गरेका थिए मञ्चका अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनक रसिकको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।