झापा । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) झापाको सामुदायिक भवन सरोकारवालाहरूले बुधवार अवलोकन गरेका छन् ।
शिवसताक्षी नगर पालिका वडा नं. ११ स्थित दूधेमा रहेको आदिवासी सामुदायिक भवन नेफिन झापाका पूर्व अध्यक्ष, वर्तमान कार्य समिति र जातीय संघ–संस्थाका नेतृत्वहरूले अवलोकन गरेका हुन् ।
धेरैवर्ष अघि बनेको एकतले सामुदायिक भवनलाई थप मर्मतसहित केही कोठाहरू थप्ने र सामुदायिक भवनलाई सम्भव भएजतिको सुविधा सम्पन्न बनाउने योजना अनुरूप पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नं. १ ले आ.व. २०७९÷८०को लागि विनियोजन गरेको २५ लाख रकम खर्च गरि थप एउटा सामुदायिक भवन र शौचालय निर्माण भएको छ ।
यसरी निर्माण गरिएको सामुदायिक भवनमा कार्यालय सञ्चालन र भवन सञ्चालन सम्बन्धि आवश्यक नीति निर्माण गर्न अवलोकन समूहबीच अनौपचारिक छलफल पनि भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरी, पूर्व अध्यक्षद्वय भरतकुमार श्रेष्ठ, प्रेमसिङ् तामाङ्, उपाध्यक्ष लिलामाया थापा मगर, सहसचिव अनिता राजवंशी, राजवंशी समाज विकास समिति झापा अध्यक्ष दिनेश राजवंशी, किरात याक्थुङ् चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाक लिम्बू र नेपाल आदिवासी जनजाति महासंघ शिवसताक्षीका अध्यक्ष जापान थेबे अवलोकनमा सहभागी रहेका थिए ।