November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आठराईको शारदा माविमा गोर्खा वेलफेयर ट्रष्टद्वारा १६ कोठे भवन निर्माण

2K

तेहृथुम । आठराई गाउपालिका वडा नं. ६ चुहानडाडास्थित शारदा माध्यमिक विद्यालयमा गोरखा वेलफेयर ट्रष्ट नेपालको ९० प्रतिशत र विद्यालयको १० प्रतिशत साझेदारीमा जम्मा २ करोड ९२ लाखमा १६ कोठे भवन निर्माण भएको छ ।

विद्यालय भवनसँगै अपाङ्गमैत्री शौचालय, पिउने पानीका लागि धारा, फोहोर डिस्पोजल ट्याङक, २४० मिटर विद्यालय घेराभारा सहित २ वटा गेट, १२० सेट डेस्क बेन्च लगायत एउटा विद्यालयको पुरानो भवन मर्मत समेत भएको छ ।

२०७९ कार्तिकमा सम्झौता गरी २०७९ पुस २२ गतेबाट सुरु गरिएको उक्त भवन २०८० साल असार १५ गते नै कार्यसम्पन्न गरी १९ गते मंगलबार गोरखा वेलफेयर ट्रस्टले विद्यालय व्यवस्थापन समितिलाइ हस्तान्तरण गरेको हो ।

Advertisement

गोरखा वेलफेयर ट्रस्टका सिएस्टी म्यानेजर श्याम कुमार राईले शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत थपलियालाई भवन हस्तान्तरण गरेका छन् । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद खनालले सुविधासम्पन्न भवन शारदा माध्यमिक विद्यालयको मात्र सम्पति नभएर आठराइ गाउपालिकाकै सम्पति भएको र यसलाइ संरक्षण गर्ने दायित्व सबैको भएको बताएका थिए ।

त्यस्तै गोरखा वेलफेयर ट्रस्ट नेपालका सिएस्टी म्यानेजर श्याम कुमार राईले भवन निर्माण तथा हस्तान्तरण मात्र नभइ पहाड ट्रस्ट समेतको साझेदारीमा पुस्तकालय निर्माण गर्ने र भवनको नियमित अनुगमन तथा निरिक्षण समेत गरिने बताए ।

उल्लेख्य मात्रामा अभिभावकहरु, विद्यार्थी, सरोकारवाला, जनप्रतिनिधि लगायत स्थानीय बासीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम सोही विद्यालयका प्रधानाध्यापक भीमबहादुर आचार्यले सञ्चालन गरेका थिए ।