पाँचथर । अविरल वर्षासगै आएको बाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्व भएका छन् । धनकुटा र पाँचथर जोड्ने नावा खोलासगै धनकुटाको चौविसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवा खोलामा पानीको बहाव वढेकाले तमोर करिडोर अवरुद्व भएको हो ।
निर्माणाधिन तमोर करिडोरका तीनवटै खोलामा पुल निर्माण भएका छैनन् । नावा खोलामा पानीको सतह तेब्वर भएका कारण मंगलबार बिहानैदेखि सवारी र यातायातका साधन अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुवरले बताए ।
यसैगरी हेवा खोलामा पानीको सतह बढेका कारण मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड पुनः अवरुद्व भएको छ । हेवा खोलामा अघिल्लो दिन डाइभर्सन गरेर सवारी र ढुवानीका साधन आवागमनका लागि बाटो खुलाइएको थियो ।
सोमवार साँझदेखि आज बिहानसम्म आरिघोप्टे वर्षा भएका कारण पुनः पानीको सतह बढेपछि यातायात राजमार्ग अवरुद्व भएको हो ।
असार २ गते राती आएको बाढीका कारण हेवा खोला पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्व छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइएपनि खोलो बढेर अवरुद्व हुँदै आएको छ ।
