धरान । ६६ औं राष्ट्रिय कविता महोत्सव विजेता कवि प्रकाश दिप्साली राईलाई चतरामा बधाई ज्ञापनका साथ नगदसहित सम्मान गरिने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव -२०८० मा सहभागी बनेर बिजेता बन्दै बराहक्षेत्र नगरपालिकाको नामलाई राष्ट्रिय स्तरमा सुवासिलो बनाएको भन्दै बराहक्षेत्र -२ स्थित चतरा साहित्यिक मन्चले आगामि २३ गतेका दिन दिप्सालीलाई सम्मान गर्न लागेको हो ।
उनलाई नगद रु. १०,१००/- (अक्षेरुपी दस हजार, एक सय रुपियाँ ) र अन्य आकर्षक ढङ्गले सम्मान गरिने आयोजकले जनाएको छ । सम्मान पश्चात् दिप्सालीको एकल कविता वाचन समेत हुने छ । सो एकल कविता वाचनमा दिप्सालीले एक दर्जन आफ्ना कविता सुनाउने चतरा साहित्यिक मन्चका अध्यक्ष दिपा मग्रातीले जानकारी दिएकी छिन् । दिप्सालीको व्यक्तिवमाथि कवि प्रल्हाद पहरेदारले बोल्ने छन् भने वाचन भएका कवितामाथि प्रख्यात कवि राज माङ्लाकले बोल्नेछन् । दिप्सालीका कविता स्थानीय कवि छबिना लुङ्गेली मगर, “स्कुलमा कविता” विजेता आर्यन निरौला र बिमला श्रेष्ठले समेत वाचन गर्नेछन् ।
कवि दिप्साली गत असार ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६६ औं राष्ट्रिय कविता महोत्सव -२०८० मा अन्तिम उत्कृष्ट १० मा रहँदै विजेता भएका थिए । उनी बराहक्षेत्रमा रहेर लामो समयदेखि साहित्य सिर्जनामा समर्पित छन् भने स्वर्णिम साहित्य समाजका अध्यक्ष रहेर विविध साहित्यिक गतिविधि समेत गर्दै आएका छन् ।
