November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ पुनः नामकरण संघर्ष समिति र सरकारबीचको वार्ता स्थगित

1.6K

विराटनगर । आजको लागि तय भएको प्रदेश १ पुनः नामकरण संघर्ष समिति र सरकारबीचको वार्ता स्थगित भएको छ । संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि स्थगित भएको हो ।

संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै आज विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको छ । एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको वार्ता समिति र ‘प्रदेश नं. १ पुनः नामाङ्कन सङयुक्त सङ्घर्ष समिति’ बिच असार १३ गते विराटनगरमा वार्ता हुने भनिएकोमा उही मिति, उही स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकारी वार्ता समितिले वार्ता गर्ने जानकारी सार्वजनिक हुन आएकाले प्रदेश सरकारको वार्ता टोली स्वयमले वार्ता हुने वातावरण अन्योलपूर्ण बनाएका कारण सरकार स्वयम्ले यस अन्योलतालाई चिर्दै वार्ताको वातावरण नबनाएसम्म ‘प्रदेश नं. १ पुनः नामाङ्कन सङयुक्त सङ्घर्ष समिति’ वार्तामा बस्न नसकिने यसै विज्ञाप्ति मार्फत जानकारी गराइन्छ ।’

Advertisement

प्रदेश नं. १ पुनः नामाङ्कन सङयुक्त सङ्घर्ष समिति वार्ताका लागि सधैँ तत्पर रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बोलाएको थियो । यता, कोशी  प्रदेश सरकारका वार्ता  टोलीका  संयोजक तथा खानेपानी सिञ्चाइ तथा उर्जा मन्त्री तीलकुमार मेन्याङ्बोले  वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले नभ्याउने भएपछि वार्ता स्थगित भएको बताए ।