November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पुनःनामाङ्कन सङ्घर्ष समिति र प्रदेश सरकारबीच सोमबार वार्ता हुने

1.7K

विराटनगर । प्रदेशको नाम कोशी नामकरण भएको विरोधमा आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता हुने भएको छ ।

सोमबार बिहान विराटनगरमा दुबै पक्षबीच वार्ता हुने तयारी रहेको प्रदेश सरकार स्रोतले पुष्टि गरेको हो ।

‘सोमबार बिहान विराटनगरस्थित होटल बिगमा वार्ता हुने तय भएको छ’, सरकारी स्रोतले भन्यो ‘अहिलेसम्म त्यही कुरा छ।’ प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको छ ।

Advertisement

प्रदेशका दुई सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साथ छाडेपछि प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति बनाएको थियो । नामबारे कुनै बहस नहुने बताउँदै आएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अल्पमतमा परेपछि भने वार्ता समिति बनाएका थिए ।

खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेको समिति बनाएर सरकारले वार्ता आह्वान गरेको थियो। सरकारले वार्ताका लागि पत्राचार गरेको एक सातापछि आन्दोलनकारी पक्षले पनि आइतबार समिति बनाएको हो ।

समितिमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् । विभिन्न जातीय संघ संस्था र राजनीतिक दलको प्रतिनिधित्व हुने गरी टोली बनाइएको समितिले बनाएको छ ।

फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन सुरु भएको थियो । कोशी नाम एकल जातीय नाम भएको भन्दै आन्दोलनकारीले पहिचानमा आधारित नाम पुनः राख्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।

यसक्रममा एक जना आन्दोलनकारी पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ । चैत ५ मा विराटनगरमा घाइते भएका उनको चैत १० मा उपचारका क्रममा निधन भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ ।