November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अविरल वर्षा र बाढीका ४ वेपत्ता, पक्की पुल र बेलीब्रिज बगायो

2.1K

पाँचथर । अविरल वर्षाको कारण मेची राजमार्ग अन्तर्गत फिदिम ४ स्थित हेंवा खोलाको पक्की पुल बाढीले बगाएको छ । त्यसैगरी तमोर करिडोरको बेलिब्रिज पनि बगाएको छ ।

पाँचथरका राजनीतिज्ञ तथा समाजसेवी नरेन्द्र केरुङले फेसबुकमा अपडेट गरेअनुसार फालेलुङ ७ थोकपन – वडा ३ मच्छेबुङ मोटरेवल पुल र याङवरक– १, च्याङथापुमा ४ घर बाढीले वगाएको छ ।

पहिरोमा पुरिएर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ ।

बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्याएको थियो । बाढी पहिरोले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

तस्बिरः नरेन्द्रकुमार केरुङको फेसबुकबाट