November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बालविवाह गरेकाले मण्डपबाटै बेहुलाबेहुली पक्राउ

1.9K

विराटनगर । बालविवाह गरेको आरोपमा धनकुटामा विवाह मण्डपबाटै बेहुलाबेहुली पक्राउ परेका छन् ।

वालविवाह गरेको जानकारी पाएपछि प्रहरीले धनकुटा नगरपालिका–४ देव्रेवासबाट बेहुला नरेश मग्राती र बेहुली सफला खड्कालाई सोमबार साँझ पक्राउ गरेको हो ।

वालविवाह हुदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले उनीहरुलाई मण्डपबाटै पक्राउ गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘उमेर नपुगी बालविवाह हुँदै गरेको खबर आएपछि विवाह मण्डपबाटै बेहुला–बेहुलीलाई नियन्त्रणमा लिएका छौं,’ डीएसपी कुँवरले भने, ‘हामी थप बुझ्दैछौं, विवाह गर्ने गराउँनेहरुलाई पनि कारबाही हुन्छ ।’

Advertisement

२० बर्ष नपुगी विवाह गर्न नपाइने कानूनी प्रावधान छ । तर, बेहुलाबेहुली दुवैको विवाह गर्ने उमेर पुगेको छैन । बेहुला नरेश १९ बर्षका छन् भने बेहुली सफला १५ बर्षमात्र पुगेकी छन् । अन्तरजातीयका कारण परिवार मञ्जुर नदेखिएपछि उनीहरुले गत बैशाख १ गते भागी विवाह गरेका थिए ।

दुवै जना एक भएपछि नरेशको परिवारले देव्रेवासस्थित घरमा औपचारिक विवाह गर्ने क्रममा उनीहरु प्रहरीको फन्दामा परेका हुन् । विवाहमा छरछिमेकीलाई पनि डाकिएको थियो, गाउँका धेरै मानिस भेला भएका थिए । विवाह मण्डपमा टिका लगाउँने क्रम चलिरहेका बेला साँझ करिब ५ बजे बेहुला–बेहुलीलाई प्रहरीले पक्राउ गरेको स्थानीय निर्मला राई बताइन् ।

तस्बिरः फाइल