विराटनगर । ‘कोशी’ नामकरणविरूद्ध उर्लिएका प्रदर्शनकारीमाथि प्रहरीको बर्बर दमन भएको छ । प्रदेशको पून: नामकरणको माग गर्दै आइतबार विराटनगरमा भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्दा दर्जनौं आन्दोलनकर्मी घाइते भएका छन् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप भएपछि दोहोरो झडप भएको हो । झडपमा किरात राई खेलकुद संघका अध्यक्ष सन्जय राई,सामी पालुङ्वा,सोनाहाङ राई, बिबेक राई,भवानी शेर्मा, अशोक छेत्री लगायत दर्जनौं घाइते भएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले जानकारी दिए ।
घाइतेहरूको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ ।
आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष गोबिन्द छन्त्यालले सुरक्षाकर्मीले बिहानैदेखि पहिचानप्रेमी नेता तथा अभियन्ताहरूमाथि खोजीखोजी धरपकड गर्ने, नियन्त्रण लिने र हिरासतमा कैद बनाउने कार्य गरिरहेको बताए ।
आन्दोलनकर्मीले विराटनगरस्थित देवकाेटा चाेकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जाने क्रममा प्रहरीले दर्जनाैं सेल अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोराले हानिएको छ । प्रतिरक्षाका लागि प्रदर्शनकारीले पनि भाटा, ढुंगा, गुलेली, बाेतल प्रहार गरेका छन्।
