सुनसरी । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र-३ ले आयोजना गरेको स्कुलमा कविता कार्यक्रमका विजेता आर्यन निरौलालाई उनी पढ्ने विद्यालय वसन्त ऋतु माविले भव्य स्वागत र सम्मान गरेको छ । गत वैशाख २९ गते एक कार्यक्रमको आयोजना गरी सो प्रतियोगिताको विजेता बन्दै उपाधी चुमेर आफ्नो विद्यालयको शीर उच्च बनाएको भन्दै सो स्वागत तथा सम्मान गरेको हो ।
विद्यालयका शिक्षकहरू, त्यहाँ अध्ययनरत विद्यार्थीहरुले उनलाई अबिर, फुलमाला लगाएर बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । साथमा विद्यालयको तर्फबाट निरौलालाई मायाको चिनोसमेत प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश पोखरेलले आर्यनले ‘स्कुलमा कविता’ कार्यक्रमको उपाधी जित्दै यस विद्यालयको सान बढाएको भन्दै आर्यनलाई धन्यवाद दिए । ‘उनको सम्मानमा यो कार्यक्रम राख्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको छ।’, उनले भने ।
यस्तै, उनले प्राज्ञिक संस्थाहरु सधैं सिर्जनशील, गतिशील र नयाँपनको आभास दिलाउने हुनुपर्ने बताए । सोही सिर्जनशील र नौलो स्वादको काम स्वर्णिम साहित्य समाजले ‘स्कुलमा कविता’ कार्यक्रमको आयोजना गरेको बताउँदै उनले स्वर्णिम सनाजलाई धन्यवाद दिए । सो कार्यक्रमलाई संचालन भने सो विद्यालयका शिक्षक सुमन विकलले गरेका थिए ।

बराहक्षेत्र नगरपालिकामा लामो समयदेखि कला र साहित्यमा समर्पित स्वर्णिम साहित्य समाजले गत २०८० माघ २१ गतेदेखि ‘स्कुलमा कविता’ सुरु गरेको थियो । साविक ५ वटा गाविसका विद्यालयहरुमा विभिन्न अडिसनहरू पार गर्दै सो कार्यक्रमको फाइनल गत वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न गरेको थियो।
उक्त प्रतियोगितामा वसन्तऋतु माविका आर्यन निरौला प्रथम, स्काई इङ्लिस स्कुल बराहक्षेत्र -३ नडाहाका पुष्पा घिमिरे दोस्रो, राजावास इङ्लिस बोर्डिङ स्कुल, बराहक्षेत्र -१०कि सुष्मिता खत्री तेस्रो र मुनवीम एकेडेमी बराहक्षेत्र -५ का इशा सुवेदी सान्त्वना बनेकी थिइन् । आर्यनले नगद १० हजार, आकर्षक ट्रफी, प्रमाणपत्र, एकझोला किताब र ‘साहित्य पोष्ट’को तर्फबाट एक बाकस किताब प्रदान प्राप्त गरेका थिए । यस्तै, दोस्रो हुने घिमिरेले नगद ५ हजार, प्रमाणपत्र, एक झोला किताब र तेस्रो हुने खत्रीले नगद ५ हजार प्रमाणपत्र, एकझोला किताब प्राप्त गरेका थिए भने सान्त्वना हुने इशा सुवेदीले पनि ५ हजार प्रमाणपत्र, एकझोला किताब प्राप्त गरेका थिए ।
विजेता आर्यनले स्वागत तथा सम्मान ग्रहणपश्चात् आफू यो उपाधी जित्दा निक्कै गौरवान्वित भएको र आफू सदा कविता लेखनमा समर्पित रहने बताए ।

