November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हाम्रै धरोहरको कुरा गर्दा हामीलाई अराजक हुनुको आरोप लाग्ने गरेको छ: प्रकाश थाम्सुहाङ

8.1K

सिलगढ़ी । ‘स्थापित समुदायहरूको साहित्य तीन हजार सालदेखि चलिआएको हो। त्यसको गरिमालाई हामीले स्वीकारेकै हौँ। हाम्रो पनि आफ्नै भाषा, संस्कृति, साहित्य र धरोहर छ। हामीले पनि हाम्रै धरोहरको कुरा गर्दा हामीलाई अराजक हुनुको आरोप लाग्ने गरेको छ’, भन्दै इलामेली कवि प्रकाश थाम्सुहाङले सालबारी, भारतस्थित प्रकाशन संस्था बुकएन्ट केफेमा पहिचानवादी लेखनमाथि लाग्ने गरेको अनावश्यक एकपाखे आरोपको तार्किक जवाफ दिए।

‘नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्नुपर्दछ। पुरानो पुस्ताले नयाँ पुस्तालाई माया गर्नु पर्दछ। तब साहित्यिक संवादको परम्परा अघि बढ़ेर जाने हो ।’, थाम्सुहाङले थप बताए।

बुकएन्टद्वारा थालिएको एकल सिरिजको पहिलो अङ्कमा निम्त्याइएका कवि थाम्सुहाङलाई मूलत: पहिचानवादी सृजनाका मूल खम्बा मानिने गरिन्छ। ‘रचना, रचनागर्भ र संवाद’ शीर्षकको एकल सिरिजमा उनीसँग भारतका युवा कवि अजित वियोगीले संवादमा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए।

Advertisement

कवि थाम्सुहाङले पछिल्लो नेपाली साहित्यमा पहिचान लेखन कमजोर बन्दै गएको स्वीकार्दै त्यसलाई अझ बलियो बनाउन पहिचानवादी लेखनका साहित्यकहरू एक ढिक्का हुनुपर्ने आह्वान गरे। आधा दर्जन कविता सुनाएपछि पनि उनलाई अझ कविता सुनाउने दर्शक अनुरोध आएको थियो। उनले कविता सुनाइसकेपछि कविताका रचनागर्भ सुनाउँदै सानामा हजुरआमाले सुनाउने लोककथाहरू उनको सृजनाको स्रोत रहेको बताउँदै ती कथाहरूबाट आफूमा कल्पनाशीलता मौलाएको खुलाए।
‘हजुरआमाले सुनाएका लोककथा नै मेरा कविताका स्रोत हुन्।’

मानिसको अन्तिम सत्य दु:ख नै हुने गरेको आत्मस्वीकृति गर्दै लेखकले सिर्जिएको दुखबोध नै बजारमा बिक्री हुने उनले दावा समेत गरे। ‘इन्द्रबहादुर राईका आरम्भिक कथाहरू रातभरि हुरी चल्यो, जयमाया आफू मात्र लेखापानी आइपुगी जस्ता लोकप्रिय कथाहरू, प्रकाश कोविदका प्रेमिल दुखान्त उपन्यासहरू यही सत्यका उदाहरण हुन्’, उनले थपे। दर्शकदीर्घाबाट आएका प्रश्नहरूको पनि थाम्सुहाङले उत्तर दिए।

सिलगढ़ीका प्रसिद्ध नेल आर्टिस्ट अजोय कुमार रोयले थाम्सुहाङले कविता वाचन गर्दै गर्दा तत्काल चित्र आँकेर श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।

वरिष्ठ सर्जकहरू ज्ञानेन्द्र खतिवड़ा, मोहन ठकुरी, कालुसिंह रणपहेंली, टङ्क शर्मा, डा. नरेशचन्द्र खाती, डा. साङ्मु लेप्चा, मञ्जुला तामाङ सुब्बा, पर्वत पोर्तेलहरूको विशेष उपस्थित रहेको अन्तर्क्रियात्मक कार्यक्रममा साहित्यसुधी लक्ष्मण दाहाल, सृजना सुब्बा, रुबेन गुरुङ, निर्मल सिञ्चुरी, साइमन भुषाल, विभास कुमार नन्दीको उपस्थित रहेको थियो।