November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अपहरणमा परेका मिङ्सोको अवस्था अझैं अज्ञात

सीता तुम्खेवा
२०८० जेष्ठ २

17.1K

काठमाडौं । अपहरणमा परेका झापा बुद्धशान्ती गाउँपालिका ४ का पहिचानवादी युवा नेता पुर्ण सुहाङ मिङ्सोको अवस्था अझैं अज्ञात छ । सुहाङ बैशाख ३१ गते राती ११ः३० बजेदेखि बेपत्ता छन् ।

सुहाङका बुबाका अनुसार सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आधारमा मिङ्सोलाई अपहण गरिएको हो । घटना घट्नुअघि बुद्धशान्ती गाँउपालिकाका दिलकुमार लाबुङ(करण), नवराज लिम्बू, सुक्रराज लिम्बू र सुमन लिम्बु लगायत ८/९ जनाको समूहले घरमा आएर ‘तेरो छोरा निकाल हामी तेरो छोरालाई मार्छौ भनी घरमा ढुङ्गामुढा र तोडफोड गर्नुका सार्थ ज्यान मार्ने धम्की पनि दिएका थिए ।

छोराको खोजी गरी कारवाही गरीपाउँ भन्दै उनको बुबा खम्बबहादुर सुहाङले सोमबार दिउँसो धुलाबारी प्रहरी चौकीमा किटानी जाहेरी दिएका छन् । खोजी कार्यमा संलग्न रहेका कवि तथा पहिचान पक्षधर संगम सुहाङले किटानी जाहेरी दिइएको ४ जनालाई प्रहरीेले पक्राउ गरिसकेको जानकारी दिए । प्रहरीले पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ ।

Advertisement

अहिले बेपत्ता सुहाङको खोजी कार्यमा झापा बुद्धशान्तीको टिमाई खोलामा प्रहरी, स्थानीय र पहिचान पक्षधरहरु व्यापक रुपमा खटिएका छन् । टिमाई खोलाको बगरमा हत्या गरिएको हो कि भन्ने स्थानीय र आफन्तको आँकलन रहेको छ । ‘अहिले प्रहरीसँगै हामी पनि खोजी कार्यमा छौं, केही जानकारी आएका छैन । प्रहरीले हिजैदेखि खोजी गरिरहेको छ । तालिमप्राप्त कुकुर प्रयोग गरी खोजी गरिरहेको छ । भेष्ट र घडी भेटियो मान्छे भेटिएको छैन ।’, संगम सुहाङले जानकारी दिए । उनका अनुसार खोजी गर्ने क्रममा ५० र १० को नोट पनि भेटिएको छ ।

बुद्धशान्ती वडा नम्बर ४ खन्युगैडा झोलुङ्गे पुलदेखि बेपत्ता बनाइएका उनको मोबाइल स्वीच अफ छ । उनले चड्ने मोटरसाइकल र चाबी खन्युगैडाको झोलुङ्गे पुलमै भेटिएको छ ।

मिङ्सोले केहिदिन अघि बुद्धशान्ती गाँउपालिकामा प्रर्दशन गरिएको भ्रष्टचारविरुद्धको शान्ति र्‍यालीलाई समर्थन गर्दै सामाजिक संजालमा स्ट्याटस लेखेको आधारमा उनलाई ज्यान मार्ने धम्की दिएको उनको बुबाको आरोप रहेको छ ।

सुहाङ प्रदेश नम्बर १ पुनः नामाङ्कन तथा कोशी नाम खारेजीको आन्दोलनमा अग्रपंक्तिमा उभिने योद्धा हुन् । उनी बुद्धशान्ति गाउँपालिका वडा नं.४ को लिम्बुवान भोलेन्टियर्सको इन्जार्च र संयुक्त सङ्घर्ष समितिका ४ वडाका इन्जार्जसमेत हुन् ।

पुर्ण सुहाङ पहिचान आन्दोलनको योद्धा रहेको उल्लेख गर्दै किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महाचिव निरन्ती तुम्बापोले यो घटना शंकापद रहेको बताएकी छन् । ‘उनी पहिचान आन्दोलनका योद्धा हुन् । फेसबुकमा भ्रष्टाचार विरुद्धको स्ट्याटस लेखिएकै कारण बेपत्ता पारिनु शंकास्पद छ । यो घटनाको सत्यतथ्य सम्बन्धित राज्य संयन्त्रबाट आउन जरूरी छ ।’, उनले भनेकी छन् ।

यस्तै, कियाचुका अध्यक्ष प्रेम येक्तेनले लेखेकै आधारमा अपहरण गरिनु अपराध भएको बताएका छन् । ‘एक नागरिकले बोल्दा र लेख्दाकै कारण अपहरण र बेपत्ता गर्ने कार्य अपराध हो । कोशी खारेजी आन्दोलनका एक सहयोद्दा पुर्ण सुहाङको बैशाख ३१ राती अपहरण र बेपत्ता पारिएकाको घटना अपराध हो । घोर निन्दा र भर्सना गर्दछु ।’, अध्यक्ष येक्तेनले सामाजिक संजालमा लेखेका छन् ।

अध्यक्ष येक्तेनले आन्दोलनलाई कमजोर बनाउन यस्ता घटना घटाइएको हुन सक्ने पनि बताएका छन् । ‘यस्ता घटनाहरु घटाएर जनताको ध्यान फरक ठाउमा मोड्दै कोशी प्रदेश नामकरण खारेजीको बिद्रोहलाई कमजोर बनाउदै लैजाने राज्य र नश्लीय शासक पक्षको षडयन्त्र हुनसक्ने भएकोले यसलाई गम्भीर रुपमा मनन गर्दै आन्दोलनको सबै कार्यहरु समेत ससक्त रुपमा जारी राखौ भन्न चाहन्छु ।’, उनले आह्वान गरेका छन् ।