अध्यक्षमा राजेन्द्र इधिङ्गो चयन
धरान । लिम्बू समुदायका युवाहरूको साझा संस्था याक्थुङ युवा मञ्चको अध्यक्षमा राजेन्द्र इधिङ्गो चयन भएका छन् । शुक्रबार र शनिवार धरानमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट इधिङ्गोको अध्यक्षतामा २५ जना कार्य समिति चयन गरिएको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष सुवास लुम्फङ्वा, उपाध्यक्ष सुनिल आङ्बो, महासचिव संगीता सुहाङ, उपमहासचिव मनकुमार आङ्देम्बे र कोषाध्यक्ष अरुणा आङ्बुहाङ चयन भएका छन् । समितिको सचिव भने बैठकले मनोनयन गर्ने भएको छ ।
त्यसैगरि समितिको सदस्यमा मचिन्द्र लोवा, सुनिल सुब्बा, मनिसा सम्बाहाम्फेलगायत १८ जना जना चयन भएका छन् भने तीन जना सदस्य बैठकले मनोनित गर्ने छन् ।
किरात याक्थुङ चुम्लुङका केन्दीय उपाध्यक्ष डा. कमल तिगेलाले कार्यक्रममलाई उद्घाटन गर्दै पहिचानको आन्दोलनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । कोशी प्रदेश नामाकरण जसरी भएपनि सच्चिनु पर्ने बताउदै डा. तिगेलाले पहिचानको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भएको भन्दै त्यसको निन्दा गरे । प्रदेश नं १ को नामाकरण सुनियोजित तरिकाले ‘कोशी’ राखिएको आरोप लगाउदै उनले राजनीतिक दलका नेतृत्वले पहिचानको शान्तिपूर्ण आन्दोलनलाई हस्तक्षेप गर्न खोजिए त्यसको परिणाम सकरात्मक नहुने चेतावनी दिए ।
सम्मेलनमा अरुण पूर्वका ९ वटा जिल्लाका प्रतिनिधि र पर्यावेक्षकको उपस्थिति रहेको थियो । सम्मेलनले १४ वुँदे धरान घोषणा पत्र जारी गरेको छ ।
